काठमाडौं– सूचना र प्रविधिको विकाससँगै पछिल्लो समय उमेर नपुग्दै स्वयम् बालबालिकाले विवाह गर्ने प्रवृत्ति बढ्दै गएको छ। राष्ट्रिय बाल अधिकार परिषद्ले आर्थिक वर्ष २०७५७६ मा बाल विवाहसम्बन्धी विभिन्न सञ्चारमाध्यमबाट सम्प्रेषण भएका सामग्री अध्ययन प्रतिवेदन हेर्दा बाल विवाह बढ्दै गएको देखाएको छ।
सामान्यतया बाल विवाह भन्नाले कुनै पनि राष्ट्रको कानूनमा विवाह गर्न उपयुक्त भनी तोकिएको उमेरभन्दा कम उमेरमा गरिने विवाहलाई बुझाउँछ। सामान्यतया १८ वर्षभन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ। सरकारले बाल विवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२ लागू गरी सो सम्बन्धी विविध कार्यक्रम सञ्चालनमा ल्याएको छ।
बाल विवाह विरुद्धका विभिन्न प्रयास हुँदाहँदै पनि घटनामा कमी भएको देखिँदैन। यस अवधिमा विभिन्न ३४ जिल्लामा १३७ बाल विवाहका घटनामा १९६ बालबालिकाले विवाह गरेको देखिन्छ। बाल विवाहका घटनालाई हेर्दा पहिलो चौमासिकमा ४६ घटनामा ५६ बालबालिका, दोस्रो चौमासिकमा ४९ घटनामा ३२ र तेस्रो चौमासिकमा ४२ घटनामा ६८ बालबालिकाले विवाह गरेको परिषद्ले जनाएको छ।
नेपालको संविधानले कुनै पनि बालबालिकालाई बाल विवाह, गैरकानूनी ओसारपसार र अपहरण गर्न वा बन्धक राख्न पाइने छैन भनेको छ। बाल विवाहका घटनाको वर्गीकरण गर्दा बालक र बालिका दुवै ११८ ले उमेर नपुग्दै विवाह गरेका छन् भने १८ वर्षभन्दा कम उमेरका दुई बालिकाको विवाह ६० वर्षभन्दा माथिका वृद्धसँग भएको देखिएको छ। साथै ७३ बालिकाको वयस्क पुरुषसँग विवाह भएको पाइएको छ।
बाल विवाह भएका १९६ मध्ये अभिभावकद्धारा ७५ जना (३८ प्रतिशत) र आफूखुशी वा भागी विवाहसामाजिक सञ्जाल तथा फेसबुकमार्फत उमेर नपुग्दै १२१ जना (६२ प्रतिशत) को बाल विवाह भएका घटना सार्वजनिक भएका छन्। यसैगरी बाल विवाहलाई लैङ्गिक रुपमा विश्लेषण गर्दा बालक ५९ (३० प्रतिशत) र बालिका १३७ (७० प्रतिशत) रहेका छन। साथै नेपाल प्रहरी बाल क्लबको सक्रियतामा २४ बालबालिकाको विवाह रोकिएको देखिन्छ।
जिल्लागत रुपमा हेर्दा कोलीकोट सबैभन्दा बढी २६ बालबालिकाको बाल विवाह भएको घटना प्रकाशनमा आएको छ। आर्थिक वर्ष २०७४७५ मा १३६ बाल विवाह भएकामा यस अवधिमा १३७ बाल विवाहका घटना प्रकाशनमा आएका छन्। यसबाट बाल विवाहको रोकथाममा सुधार हुन नसकेको देखिएको छ । बाल अधिकारकर्मी दुर्गादेवी मैनालीले बाल विवाह रोक्नका लागि सरकार र सरोकारवाला सङ्घसंस्थाले प्रभावित क्षेत्रमा सचेतनामूलक अभियान नै सञ्चालन गर्नुपर्ने बताएका छन्।
नेपालको देवानी संहिता २०७४ मा २० वर्ष उमेर पूरा नभई कसैले पनि विवाह गर्न हुँदैन भनी उल्लेख गरिएको छ। बाल विवाह तराई र सुदूरपश्चिमका जिल्लामा बढी मात्रामा देखिएको छ। शारीरिक र मानसिक रूपमा परिवर्तन हुने उमेरमा बालबालिका वैवाहिक बन्धनमा बाधिँदा किशोरीको स्वास्थ्यमा समस्या हुनाका साथै यौन दुव्र्यहार, अशिक्षा, कमजोर स्वास्थ्य, जनसङ्ख्या वृद्धि आदि समस्या हुने गरेको परिषद्का प्रवक्ता रामबहादुर चन्दको भनाइ छ। (रासस)