सूर्यचन्द्र बस्नेत, काठमाडौँ - किताब, कपडा, खेलौना, फर्निचर, विद्युतीयलगायत घर कार्यालयमा काम नलाग्ने अवस्थामा पुगेका सामग्रीको व्यवस्थापन कसरी गर्ने? फोहोरसरह फ्याँक्ने वा पुनः प्रयोग गर्ने?
‘तपाईंको पुरानो सामान अरूका लागि नयाँ हुन सक्छ’ भन्दै सुखवती स्टोर नामक संस्थाले त्यस्ता सामग्रीको मर्मत, सुधार र प्रशोधन गरी पुनः प्रयोगयोग्य बनाउने गरेको छ। यसले प्रशोधित सामान न्यून मूल्यमा पाउने, फोहोर व्यवस्थापन र वातावरणीय सन्तुलनमा मद्दत पुग्ने संस्थाको दाबी छ।
‘एकको बेकार, अर्काको सरोकार’, ‘एकको दान, अर्कोलाई वरदान’, ‘माया बाँडौँ, खुशी बढाऔँ’ यस्तै सोचका साथ सुखवती स्टोरले घर, कार्यालयबाट फ्याँकिने अवस्थाका सामान मर्मत र सुधार गरी फेरी प्रयोगयोग्य बनाउने गरेको छ। भान्साका विविध सामान, महिला, पुरुष वा बच्चाका कपडा, खेलौना, जुनसुकै प्रकारका विद्युतीय सामग्री, टीभी, सीडी, किताब, गमलासहित नर्सरीका सामान, फलफूल र अन्य वनस्पतिका बिरुवासमेत उपयोग गर्ने गरेको संस्थाका सचिव कमला गुरुङले बताइन्।
“कपडा छान्छौँ, धुन्छौँ र सिलाएर आइरनपछि नयाँसरह बनाउँछौँ, विद्युतीय र अन्य सामग्री मर्मत गरेर प्रयोग हुने बनाउँछाैँ,” सचिव गुरुङले भनिन्। सामाजिक उद्यमशीलताको सोचअनुरूप काठमाडौँको बसुन्धारामा ९ जनाबाट १ सय ३४ केजी दान लिएको सामान प्रशोधन गरी बेचेर शुरु भएको यो अभियान राजधानीका म्हैपी, सामाखुशी हुँदै अहिले गोङ्गबुमा कोठा भाडामा लिएर सञ्चालन हुँदै आएको छ। कहिलेकाहीँ मेला महोत्सवमा समेत सामान विक्री हुन्छ।
चार वर्षको अवधिमा करिब २० हजार केजी कपडा प्रशोधन गरेको संस्थाका अध्यक्ष चीजमान गुरुङले बताए। “कपडा किन्न विदेसिने पैसा जोगिएको छ, घर कार्यालयको फोहोर व्यवस्थापन र नयाँ सामान तयार गर्दा लाग्ने समय अनि वातावरणीय स्रोत जोगिएको छ,” अध्यक्ष गुरुङको भनाइ छ।
पुनः तयार गरिएका जिन्स पाइन्ट, सर्ट, टिसर्ट, कुर्ता, केटाकेटीका लुगा रु. १०, रु. ३०, रु. ५०, रु. ८०, रु. १०० र रु. २०० मूल्य राखिएको छ। कतिपय कोट र सारीको मूल्य भने रु. ५०० सम्म पर्छ। यहाँ विद्युतीय लगायतका सामग्री न्यून मूल्यमा विक्री हुन्छ। न्यून आएका भएका, पैसा कम हुने विद्यार्थी र किशोर, आफूलाई नभए पनि राहत वा अरूका लागि र कहिलेकाहीँ सस्तोमा ‘ब्राण्डेड’ कपडा चाहनेहरू स्टोरमा आउने गरेको कोषाध्यक्ष केशकुमारी रानाले बताइन्। पहिलेको तुलनामा भने अचेल नयाँ कपडा र सामान दान गर्ने बढेका छन्।
नाम चलेको संस्थाले समेत नयाँ कपडा, ब्रान्डेड सामान र आफूले बेच्न राखेका तयारी सामान दान दिने क्रम बढेको कोषाध्यक्ष रानाले सुनाइन्। “टयाक्सीमा ल्याएर सामान छोडिदिन्छन्, राम्रो काम गर्नुभएको रहेछ भनेर हातको घडी पनि फुकालेर पनि दिए,” कोषाध्यक्ष रानाले भनिन्। सामग्री दान लिने, छान्ने, धुने, सिलाउने, नम्बर र मूल्य राख्ने, विक्री र व्यवस्थित गर्ने कामका लागि १२ स्वयंसेवी छन्। विद्यार्थी, गृहिणी र अन्य इच्छुक पनि योग्यता र रुचिअनुसारको काम गर्छन्।
झन्डै दुई दशक सिङ्गापुरमा लाहुरे पतिसँग बसेका कमला, केशकुमारी मात्र हैन, सङ्गु सुब्बा, कल्पना गुरुङ, लक्ष्मीदेवी गुरुङ र रञ्जना तामाङले घरमा बस्नुभन्दा समाज सेवामा लाग्नु वेश भनेर स्वयंसेवी कामको नेतृत्व लिएका छन्। चर्को भाँडा तिर्नुपरेकाले नगरपालिका वा कुनै संस्थाले प्रशोधनका लागि सार्वजनिक जग्गा उपलब्ध गराए काममा सहयोग पुग्ने अध्यक्ष गुरुङले बताए।
त्यस्तै मोबाइल सवारी साधन, दक्ष, अनुभवी र उच्च शिक्षा पढेका स्वयंसेवीको खाँचो रहेको बताइएको छ। काठमाडौँ उपत्यकाका पाँच ठाउँमा यसको सेवा विस्तार गर्न सकिनेछ भने कपिलवस्तु, बुटवललगायत ठाउँबाट सेवा विस्तारको माग आएको बताइएको छ।
संस्थाका प्रोजेक्ट म्यानेजर चित्र दाहालले २० टन सामान उपयोग र अन्य कामबाट ३३ लाखको सामान विक्री भएको बताए। ३० प्रतिशत आम्दानी घरभाडा, मर्मत, प्रशोधनसहित सञ्चालन खर्चमा जान्छ। “७० प्रतिशत राहत, अनाथालय, छात्रवृत्ति, अपाङ्गता भएका व्यक्ति र अन्य सहयोगमा खर्च हुन्छ,” दाहालले भने। उनले सामाजिक उद्यमशीलताको अवधारणाअनुरूप कृषि, सिँचाइ, फलफूल खेतीतर्फ केही गरौँ भनेर काम अघि बढाइरहेको जानकारी दिए।
गाेर्खा भूकम्पपछि भूकम्पपीडितलाई खाद्यान्न, कपडाजस्ता सामग्री संस्थाले वितरण गरेको थियो। ब्युटिफुल स्टोर फाउन्डेसनको सहयोगमा स्टोरले रसुवा, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र दोलखाका साबिकका १३ गाउँ विकास समितिका झन्डै ५ हजार ८ सय घरपरिवारलाई ८ हजार सिरक वितरण गर्याे।
ह्याप्पी फ्याक्ट्री कोरियाको सहयोगमा नुवाकोट हिलेखर्कमा २७ लाखमा गारबेँसी निमाविको भवन बनाउन सहयोग गरेको संस्थाले सिन्धुपाल्चोकको दोलालघाटमा छकोठे विद्यालय भवन र शौचालय बनाउन सहयोग जुटाएको थियो। (रासस)