काठमाडाैं, ५ माघ– नङ मानिसको महत्त्वपूर्ण अङ्ग हो। नङको काम हातखुट्टाका औँलाको सौन्दर्य बढाउनेमात्र नभई यसले शरीरभित्र लुकेर रहेका विभिन्न रोगबारे सङ्केत पनि दिने गर्छ। नङमा हुने रङ परिवर्तनले शारीरिक तथा मानसिक स्वास्थ्यबारे पनि जानकारी दिन्छ। यदि नङमा सेतो दाग, गुलाबीपना या धर्सो देखिए त्यो कुनै गम्भीर रोगको सङ्केत पनि हुनसक्छ। लिभर, मुटु, फोक्सो, छाला एवं मानसिक स्वास्थ्य समस्यासम्बन्धी समस्याको सङ्केत नङले पनि दिने गर्छ। त्यसैले बिरामी जाँचको क्रममा उसको हात, खुट्टाका औँलाका नङको परीक्षण गरिन्छ। होमियोप्याथिक चिकित्सा पद्धतिमा बिरामीको नङको रङ परिवर्तन हुनुलाई विशेष महत्त्व दिइन्छ।
नङकाे रङ परिवर्तनबाट निम्न राेगका लक्षण थाहा पाउन सकिन्छः
थाइराइडको समस्या
– स्वस्थ नङ सिधा र दाग–धब्वारहित हुन्छ। तर, नङ छोटो समयमै भाँचिने, चर्किने र सुख्खा हुने भएमा त्यो थाइराइड हर्मोन असन्तुलनको लक्षण हुनसक्छ। थाइराइडका कारण नङ झर्नेजस्ता समस्या पनि हुन्छ। थाइराइडले हार्मोनस असन्तुलनको सङ्केत गर्दछ।
– नङ चिरिएको वा रङ परिवर्तन भएर पहेँलो भएको छ भने त्यो फंगल इनफेक्सनको कारण पनि हुनसक्छ।
छालाको क्यान्सर
नङको भित्रपट्टि कुनै गहिरो रङकाे धर्सा देखिएमा सचेत हुनुपर्छ। यस्तो भएमा जतिसक्दो चाँडो स्वास्थ्य परीक्षण गर्न जरुरी हुन्छ। किनभने यस्तो कालो धर्साले छालाको क्यान्सरको सङ्केत पनि हुन्छ।
त्यस्तै, नङको रङ परिवर्तन भएर पहेलो भएमा त्यो अन्य क्यान्सर जस्तो घातक रोगको पनि लक्षण हुन सक्छ। नङको रङ निलो हुँदै गएको छ भने त्यो मुुटु रोगको लक्षण हो।
फोक्सोको समस्या
कतिपयको नङको आकार परवर्तन भएर घडीको सिसाजस्तो हुनेगर्छ। यसले क्षयराेग, फोक्सोको ट्युमरजस्ता समस्यातर्फ पनि संकेत गर्छ। त्यस्तै, नङ चम्चा आकारको भएमा त्यसले छालासम्बन्धि रोग तथा मानशिक समस्यातर्फ संकेत गर्छ।
वंशाणुगत समस्या
यदि नङमा डाँडाको टुप्पाजस्तो खस्रो धर्सा देखिएको छ भने त्यो प्राकृतिक या वशांनुगत रोगको संकेत हुनसक्छ। त्यतिमात्र नभएर यस्तो रङले अर्थराईटिस, कोलाईटिस, जस्ता रोग हुनसक्ने पनि सम्भावना देखाउँछ ।
नङको रङ निलो हुँदै गईरहेको छ भने अक्सिजनको कमी, स्वासप्रश्वासको समस्या वा मुटु रोगको कारण पनि हुनसक्छ ।
मधुमेह
बेलाबखत नङको रङ आधा गुलाबी र आधा सेतो देखिनसक्छ। यस्तो रङले मधुमेहको संकेत गर्छ। नङ निकै सेतो देखिएको छ भने एनिमिया पनि भएको हुनसक्छ।
चिकित्सा शास्त्रको इतिहास
चिकित्सा शास्त्रको इतिहास हेर्ने हो भने, प्राचीनकालमा आजको जस्तो रोग निदानका आधुनिक उपकरण थिएनन्। त्यतिबेला आयुर्वेदिकले रोगीको शारीरिक निरीक्षणको क्रममा नाडी, जिब्रो र हात खुट्टाका नङलाई हेरेर रोग पत्ता लगाउने गर्थे। उनीहरुले यसकै आधारमा गम्भीर रोगको समेत सफल उपचार गर्थे।
जब सन् १७९० मा होमियोप्याथिक चिकित्साको विकास भयो, त्यसपछि रोगीको अन्य परीक्षण गराउनुका साथै हात–खुट्टाका नङको बिभिन्न अवस्थालाइ मध्यनजर राखेर, नङको रुप, रङ, आकार, परिवर्तनको आधारमा पनि रोगको पहिचान गर्ने र त्यसैअनुसार सफल उपचार गर्दै आइरहेको छ।