काठमाडौँ, २९ पुस – चिसो मौसममा प्रायः हामी सबैलाई रुघाखोकी लाग्छ। हामी ठान्छौँ, चिसोका कारण यस्तो भयो। स्वभाविकै हो, चिसोले खोकीको समस्या निम्त्याउँछ। तर, खोकी लाग्नुमा चिसो मात्र नभई अनेक कारण हुनसक्छ। यदि लगातार खोकी लागिरहन्छ भने हमीले अन्य कुरामा पनि ध्यान पुर्याउनुपर्छ।
सामान्यतः चिसोमा खोकीको समस्या धेरै हुने गर्छ। यस्ता खोकी पाँचदेखि सात दिनभित्र आफैँ निको हुन्छ। त्यसैले मानिसहरू यस्ता खोकीलाई गम्भीरतापूर्वक लिँदैनन्। कतिपयले यस्ता खोकीको घरमै उपचार गर्छन्। सामान्य रुघाखोकीमा सामान्य औषधि प्रयोगले खासै असर गर्दैन। तर, लामो समयसम्म खोकी लागेमा, खोकी लगातार लागेमा तथा औषधिले पनि खोकी लाग्न कम नभएमा भने तुरुन्तै चिकित्सकलाई देखाउनु पर्छ। किनकी हेर्दा सामान्य लाग्ने यस्ता समस्या कतिबेला गम्भीर बन्ने गर्छ, कसैलाई थाहा हुँदैन।
खोकीका कारण फ्लु पनि हुनसक्छ
चिसोका कारण खोकी लागेमा खोकी धेरै दिनसम्म रहनसक्छ। चिसोका कारण देखिने रुघाखोकी दुई प्रकारका हुन्छन्। सुख्खा र कफ भएको। यस्ता खोकी कफसहितको भएमा वा गाढा खकारसहितको भएमा खासै डराउनु पर्दैन। किनकी, फ्लुको समस्या भएमा पनि यस्ता समस्या देखिने गर्छ।
फ्लुका कारण यो समस्या देखिएमा प्रशस्त मात्रामा झोलिलो पदार्थ सेवन गर्नुका साथै आरामसमेत गर्नुपर्दछ । यसबाट यस्तो खोकी एक साताभित्रै निको हुन्छ।
के गर्ने ?
फ्लुका कारण रुघाखोकी लागेमा डराउनु पर्दैन। एन्टिबायोटिक्स पनि सेवन गर्नुपर्दैन। औषधि पसलमा पाइने सामान्य रुघाखोकीको औषधिले पनि यो समस्या कम गर्न सकिन्छ। त्यस्तै प्रशस्त मात्रामा झोलिलो पदार्थको सेवन तथा आराम गरेर पनि यो समस्या कम गर्न सकिन्छ। त्यस्तै पानीको बाफ लिएर तथा तातो पानी पिएर पनि यो समस्यालाई कम गर्न सकिन्छ। खोकीका कारण सुत्न समस्या भएमा टाउकामुनि अतिरिक्त तकिया राखेर सुते गहिरो निद्रा पर्छ।
धूमपानले पनि लाग्नसक्छ खोकी
धूमपान गर्नेहरूमा धूवाँका कारण पनि खोकी लाग्ने गर्छ। विशेषगरी धूवाँका कारण सास नलीमा अवरोध भई खोकी लाने गर्छ। यसले गर्दा छातीबाट खकार निस्कने प्राकृतिक गति सुस्त हुने गर्छ, जसबाट छातीमा जमेको खकार निकाल्न पनि धूमपानकर्ताले खोक्नुपर्छ।
धूमपानकर्ताहरूमा यस किसिमको खोकी बिहानको समयमा धेरै लाग्ने गर्छ। त्यस्तै धूमपानकै कारण उनीहरूमा क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज (सीओपीडी)लगायत खोकीसित सम्बन्धित अन्य विभिन्न प्रकारका स्वास्थ्यसम्बन्धी समस्या पनि धेरै हुने गर्छ। जस्तो कि खोकी लाग्नु हार्ट फेलियरको एक संकेत हो।
के गर्ने ?
धूमपानका कारण खोकी लागेमा धूमपान छोड्नुपर्छ। बजारमा धूमपानको लत छोडाउने विभिन्न औषधि पाइन्छ। त्यस्ता औषधि सेवन गरेर पनि धूमपान त्याग्न सकिन्छ। विशेषगरी लामो समयसम्म खोकी लागेमा, खोकीका कारण सास लिन कठिन भएमा तथा सास नली फुलेमा तुरुन्तै चिकित्सकलाई देखाउनुपर्छ।
कतै खोकी क्यान्सरको लक्षण त हैन?
खोकी आफैँमा एक सामान्य समस्या हो।
कहिलेकाहीँ मात्र यो गम्भीर हुने गर्छ। कुनै समस्या वा कुनै गम्भीर लक्षण देखिएमा तुरुन्तै चिकित्सकलाई देखाउनुपर्छ।
धेरैजसो खोकी केही हप्तामै ठीक हुन्छ। तर, यदि खोकी लामो समयसम्म पनि निको नभए, खोकीमा खकार देखा परे र खोकी लागेर रगत बान्ता भए तुरुन्तै चिकित्सकलाई देखाएर यसको कारण कतै छातीको सङ्क्रमण वा फोक्सोको क्यान्सर त हैन भनेर पत्ता लगाउन सकिन्छ।
फोक्सोको क्यान्सर भएमा बारम्बार छाती दुख्ने, थकान महसूस हुने, गर्धन वा अनुहार सुन्निने, अचानक वजन कम हुनेजस्ता लक्षण देखा पर्ने हुन्छ।
हुन त यी सबै लक्षण याद नहुन सक्छ। र, हालै भएको एक शोधले जनाएअनुसार एक तिहाइ मानिसमा फोक्सोको क्यान्सरको कुनै लक्षण देखिँदैन। त्यसैले विनालक्षण नै गम्भीर सङ्क्रमण निम्तनुभन्दा पहिले स्वास्थ्यसम्बन्धी कुनै पनि असामान्य लक्षण देखा परे तुरुन्तै चेक जाँच गराएर पनि यस्ता सम्भावित जोखिम कम गर्न सकिन्छ।
के गर्ने ?
खोकी लाग्दैमा क्यान्सर हुन्छ नै भन्नै छैन। तर, जति छिटो रोग पत्ता लाग्यो, त्यसको उपचार त्यति नै छिटो हुने भएकाले लक्षण देखा पर्नासाथ चिकित्सकलाई देखाउनु उपर्युक्त हुन्छ।
खोकीको कारण दम पनि हुनसक्छ
दमका रोगीलाई खोकी लाग्ने गर्छ। त्यसैले यसलाई दमको सामान्य लक्षण मानिन्छ। स्वाँ–स्वाँसहितको खोकी वा विनास्वाँ–स्वाँको खोकी पनि दमको कारण हुनसक्छ। बिहान वा रातको समयमा लगातार वा बारम्बार खोकी लागे तुरुन्तै चिकित्सकलाई देखाउनुपर्छ। दम भएमा छाती कसिने तथा श्वास लिन समस्या हुने गर्छ। दम भएमा कुनै विशेष कारण हुँदैमा खोकी लाग्दैन, जुन पराग, धूवाँ– धुलोका कणका कारण हुने गर्छ।
के गर्ने ?
यस्तो लक्षण देखिएमा तुरुन्तै चिकित्सकलाई देखाउनुपर्छ । समयमै उपचार गरेमा मात्र यो रोग नियन्त्रण गर्न सकिन्छ। अन्यथा, यसले कुनै पनि बेला गम्भीर रूप लिनसक्छ।
फोक्सोको सङ्क्रमणका कारण पनि खोकी लाग्नसक्छ
यदि खोकी तीन साता वा सोभन्दा अधिक समयसम्म रहिरहे तथा श्वास लिन कठिनाइ भए, श्वास लिँदा पीडा महसूस भए, छाती घ्यारघ्यार भए, सास फेर्दा आवाज आए, छाती पोले वा अचानक तौल कम भए वा खाना निल्न समस्या भए पनि फोक्सोको सङ्क्रमण, निमोनिया वा ब्रोनकाइटिस हुनसक्छ।
विशेषगरी, खोकीका साथ ज्वरो आई श्वास लिन कठिन हुनुका साथै खकारमा रगत देखिए सर्तक हुनुपर्छ। किनकी, निमोनियाजस्ता फोक्सोको सङ्क्रमणका कारण पनि यी लक्षण देखापर्ने गर्छ। यसको निदानका लागि एन्टिबायोटिक औषधि सेवन जरुरी हुन्छ।
के गर्ने ?
यस्ता लक्षण देखापरे विभिन्न स्वास्थ्य जाँच गरेर पनि सङ्क्रमण भए–नभएको पत्ता लगाउन सकिन्छ। यदि फोक्सोमा सङ्क्रमण देखापरे नियमित औषधि सेवनका साथ आराम गरेर पनि यो समस्या कम गर्न सकिन्छ।