काठमाडौँ, २७ पुस। वर्षायाममा मात्र झाडापखाला लाग्छ भन्नु गलत हो। वर्षायाममा संक्रमित रोगको भय हुन्छ। खानेकुरा र पिउने पानीमा संक्रमण फैलन्छ। त्यही कारण झाडापखाला लाग्नसक्छ।
अहिले जाडो सिजन छ। जाडो सिजनमा पनि झाडापखाला हुनसक्छ। जाडोे महिनामा झाडापखाला (विन्टर डायरिया)का बिरामीको चाप हुन्छ। यस्तो समस्या खासगरी नवजात शिशु र कम उमेरका केटाकेटीमा बढी हुन्छ। यो बुझ्न आवश्यक हुन्छ कि गर्मीमा भन्दा जाडोमा हुने झाडापखाला निकै खतरनाक हुन्छ। यस्तो झाडापखालाको मुख्य कारण नै चिसो हो।
यसकारण हुन्छ जाडोमा झाडापखाला
जाडो मौसम शुरु हुनेबित्तिकै ‘रोटावायरस’ सक्रिय हुन्छ। यसकै कारण जाडो मौसममा झाडापखालाको समस्या हुन्छ। तर, यस्तो झाडापखालाले रोगप्रतिरोधी क्षमता कमजोर भएका बालबालिकालाई आक्रमण गर्छ। यस्ता बालबालिका अन्य संक्रमणको पनि जोखिममा हुन्छन्।
सामान्य उपचारले पनि यस्तो झाडापखाला एक हप्तामै ठीक हुन्छ। तर, एक हप्ताभन्दा बढी झाडापखाला भइरह्यो भने त्यो ‘कर्निक डायरिया’मा परिवर्तन हुन्छ। उपचार नगरेको अवस्थामा यसले गम्भीर परिणाम ल्याउनसक्छ। यसको उपचार ठीकसँग नगरेको अवस्थामा जलवियोजन (शरीरमा पानीको मात्रा कम) अर्थात् ‘डिहाइड्रेसन’ हुनसक्छ। शरीरमा पानीको कमी भएमा बिरामीको मृत्यु नै हुनसक्छ।
जलवियोजनको खतरा
झाडापखाला भएमा शरीरमा पानीको मात्रा कम हुँदै जान्छ। जसरी प्वाल परेको भरी गाग्रीबाट पानी चुँहिदै जान्छ, त्यसैगरी झाडापखाला लागेको मानिसबाट पनि दिसाको माध्ययमबाट पानीको मात्रा घट्दै जाने गर्छ। त्यतिमात्र नभएर पानीसँगै नून र अन्य तरल पदार्थको मात्रा पनि बाहिरिँदै जाने गर्छ, जसलाई जलवियोजन अर्थात् ‘डिहाइड्रेसन’ भनिन्छ।
जलवियोजनबारे कसरी थाहा पाउने?
– बच्चालाई कहिलेदेखि पखाला लागेको भनेर जानकारी हुनु जरुरी हुन्छ। दिसामा रगत मिसिएको, तिर्खा लागिरहने, रुँदा पनि आँसु नआएको अवस्थामा जलवियोजन हुनसक्छ।
– बिरामीलाई हेरेर पनि जलवियोजनबारे थाहा पाउन सकिन्छ। जस्तो कि खराब स्वास्थ्य अवस्था, आँखा गाडिएको, बेहोस भइरहने, मुख, ओठ, जिब्रो सुख्खा छ भने त्यस्ता बिरामीलाई जलवियोजनको समस्या भएको हुनसक्छ।
– बिरामीलाई छामेर पनि पत्ता लगाउन सकिन्छ। पेटको छाला लुज र पातलो भएमा जलवियोजन भएको हुनसक्छ।
– जलवियोजन भएमा बेचैन हुने, झर्काे मान्ने, आँखा भित्र गडिने, आँखामा आँसु नहुने, सुख्खा हुनेजस्ता समस्या देखिन्छन्।
– यस्तो समस्याले मुख तथा जिब्रोलाई सुख्खा बनाउने, अत्यधिक तिर्खा लाग्ने, पानी पिउँदा हतारिनेजस्ता लक्षण देखाउँछ।
– जलवियोजन भएको मानिसको छाला तानेर छोड्दा विस्तारै फर्किने गर्छ।
झाडापखालाबाट कसरी बच्ने?
– दिसा गरेपछि राम्रोसँग साबुनपानीले हात धुने बानी बसाल्नुपर्छ। त्यसैगरी खानुअघि र पछि पनि हात धुने गर्नुपर्छ।
– फलफूल तथा हरियो सागपातलाई राम्रोसँग पखालेर मात्र खाने गर्नुपर्छ। र, खानेकुरालाई जहिले पनि छोपेर राख्नुपर्छ।
– बच्चालाई जीवनजल दिइरहनुपर्छ। स्तनपानलाई नियमित राख्दै नरम खाद्यपदार्थ जस्तै केरा, उसिनेको आलु मुछेर खान दिनुपर्छ।
– बच्चालाई ग्लुकोज या चिनीपानीको झोल मात्र दिनु हुँदैन। यसो गर्दा बच्चाको पेटमा ग्यास उत्पन्न हुन्छ। जसले ब्याक्टेरिया संक्रमणको सम्भावना बढेर जाने गर्छ।
– त्यस्ता तरल पदार्थको पनि सेवन गराउनु हुँदैन जसमा कफिनको मात्रा हुन्छ। जस्तो कि कोकाकोला, कफि आदि।
– झाडापखालाबाट ग्रसित शिशुलाई आमाको दूधबाहेक बाहिरी दूध तथा दूधबाट बनेको परिकार खुवाउनु हुँदैन।
कस्तो अवस्थामा जाने स्वास्थ्य संस्था?
– पटकपटक पातलो दिसा भएमा,
– राम्रो साग पिउन र खान नसकेको अवस्थामा,
– तारन्तार बान्ता भएमा,
– ज्वरो आइरहेमा,
– अत्यधिक तिर्खा लाग्ने समस्या भएमा,
– दिसामा रगत देखिने लगायतको अवस्थामा।
उपचार विधि
– जलवियोजन हुन नदिन बच्चालाई नियमित रूपमा झोलिलो पदार्थ सेवन गराउनुपर्छ। झाडापखाला नथामिएसम्म यस्तो पदार्थ खुवाइराख्न जरुरी हुन्छ।
– प्रत्येक पटक पातलो दिसा गरेपछि जीवनजल दिनुपर्छ। जीवनजल दिँदा पनि ध्यान पुर्याउनुपर्छ। दुईदेखि १० वर्षसम्मका लागि १ सयदेखि २ सय मि.लि. र १० वर्षभन्दा माथिका बिरामीलाई आवश्यकताअनुसार जीवनजल दिनुपर्छ।
– डायरिया लागेका बिरामीको उपचार भनेकै जलवियोजनबाट बचाउनु हो। जलवियोजन भएमा ज्यान नै जानसक्ने समस्या हुन्छ।
– झाडापखालाका बिरामीलाई पुनर्जलीय उपचार नै सबैभन्दा महत्वपूर्ण हुन्छ । बिरामीलाई कसरी र कतिसम्म पुनर्जलीय उपचार गर्ने भन्ने कुरा बिरामीको शारीरिक अवस्था र जलवियोजनको स्थितिमा भर पर्छ।