काठमाडाैँ, २५ पुस। जाडोमा तातो चिया तथा कफि पिउनु राम्रो मात्र नभएर फेसन पनि बनेको छ । विशेषगरि युवापुस्तामा कफीको मोह धेरै बढ्न थालेको छ ।
पन्ध्रौं शताब्दीताका अरेबियन मुलुक यमनबाट सुरु भएको कफी पिउने सँस्कृति नेपालमा पनि झ्याँगिदै गएको छ । केही वर्षयता घरमा मात्रै होइन कुनै क्याफेमा बसेर कफीको चुस्की लिँदै आफ्ना मिल्ने साथीहरूसँग घन्टौं गफिने चलन बढेको छ ।
कफी पारखीहरुलाई नै मध्यनजर गरि खोलिएका क्याफेहरुमा कफीका विभिन्न भेराइटीहरु उपलब्ध हुन्छन् । क्यापेचिनो, क्याफेलाट्टे, अमेरिकानो, एस्प्रेसो लगाएतका भेराइटीहरु नेपालमा धेरै लोकप्रिय छन् । नेपालमा पनि कफी पिउने सँस्कृति बढेसँगै विभिन्न कफी हाउसहरुले फ्रेन्चाइजीको रुपमा काठमाडौं बाहिरका अन्य विभिन्न शहरहरुमा पनि शाखा खोल्न थालेका छन्।कफीको यस्ता सामाजिक मेलमिलापका फाइदाको बारेमा हामी सबै जानकार छौं । तर, कफी स्वास्थ्यको लागि कति महत्वपूर्ण छ त ?
नियमित कफी पिउने मानिसहरूका अनुसार कफीले उनीहरुको दैनिक उत्पादकत्वमा धेरै राम्रो प्रभाव पार्छ । त्यस्तै विभिन्न अध्ययनहरूले पनि कफी स्वास्थ्यको लागि राम्रो भएको तथ्य पत्ता लगाएका छन् । दिनमा तीन देखि चार कप कफी पिउनु स्वास्थ्यको लागि धेरै नै राम्रो हुने मानिन्छ । अध्ययन अनुसार दुध र चिनी नराखी कफी पिउनु सबैभन्दा राम्रो हुन्छ । त्यस्तै कफीको साथमा तपाईले कुनै पनि हेभी स्न्याक्स खाएमा भने तपाईंले कफीबाट पाउने फाइदा कम हुनसक्छ ।
यस्ता छन् नियमित कफी पिउनुका फाइदाहरूः
हालसालै गरिएको एक अध्ययन अनुसार हरेक कप कफीले तपाइंर्लाई डायबिटिज हुने खतरालाई ७ प्रतिशत सम्म कम गरिदिन्छ । नियमित रुपमा कफी पिउनाले टाइप २ डायबिटिज को खतरा धेरै कम हुन्छ । कफीमा पाइने क्याफिन पार्किन्सन्सको रोगका बिरामीलाई उपयोगी हुन सक्छ । कफी पिउनाले कलेजोको क्यान्सरको खतरा केही हदसम्म कम हुन्छ । अरु खालको क्यान्सरमा पनि कफीले राम्रो गर्ने अध्ययनहरुले देखाएका छन्।
यस्तै एक अध्ययनले कफी पिउने मानिसहरु कफी नपिउने मानिसह?को तुलनामा धेरै लामो आयु बाँच्न सक्ने कुरा पत्ता लगाएको छ। यी फाइदाहरूको आधारमा भन्न सकिन्छ, कफीले काम गर्नको लागि ताजगी मात्रै दिँदैन यसको सेवनबाट स्वास्थ्यसम्बन्धी अरु पनि फाइदा हुन्छ । तर, कफी स्वास्थ्यको लागि हरेक स्थितिमा राम्रो हुन्छ भन्ने जरुरी छैन।
नियमित रुपमा कफीको सेवन नगर्ने मानिसले कफी पिएमा उसलाई हर्टअट्याक हुने खतरा पनि हुन सक्ने एक अध्ययनले देखाएको छ ।