काठमाडौँ २४ पुस। मानिसले सकेसम्म पेट कहिल्यै खाली राख्नुहुन्न। धेरै समय पेट खाली भइरहे विभिन्न रोग लाग्नसक्छ। त्यसैले खाली पेटमा कुनै पनि खानेकुरा खानुपर्छ।
कुन खानेकुरा खाँदा स्वास्थ्यमा फाइदा पुग्छ र कुन खाँदा बेफाइदा हुन्छ? त्यसबारे जानिराख्न आवश्यक छ। गलत समयमा खाएको यस्ता खानेकुराले अल्सर जस्ता जटिल समस्यासमेत निम्त्याउनसक्छ।
केरा
केरामा आइरन तथा पोटासियम भरपूर पाइन्छ। त्यसैले केरा स्वास्थ्यका लागि धेरै फाइदाजनक मानिन्छ। यसको सेवनले शरीरमा आइरनको कमी हुन पाउँदैन। तर, खाली पेटमा केराको सेवनले भने स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्छ। विशेषज्ञहरू खाली पेटमा केरा नखान सुझाव दिने गर्छन्।
खासगरी, माइग्रेन तथा एसिडिटीको समस्या भएकाहरूले त झन् खाली पेटमा केरा खानै नहुने उनीहरू बताउँछन्। उनीहरू भन्छन्, खाली पेटमा केरा खाए एसिडिटी बढ्ने गर्छ। गलत समयमा खाएमा भने यसले रगतमा हुने खनिज पदार्थको स्तरमा तलमाथि हुनसक्छ।
अमिलो फलफूल
भिटामिन ‘सी’ले भरिपूर कागती, सुन्तला लगायतका अमिलो फल सबैको रोजाइमा पर्छ। विशेषगरी जाडो मौसममा घाममा बसेर यस्ता फल खानुको मज्जा पनि बेग्लै हुने गर्छ। शरीरलाई स्वस्थ राख्न पनि यस्ता फल निकै महत्वपूर्ण मानिन्छ। तर, खाली पेटमा यस्ता फल सेवन गर्नाले एसिडिटीको समस्या निम्तिने गर्छ। त्यसैले विशेषज्ञहरू खाली पेटमा यस्ता फल सेवन नगर्न सल्लाह दिने गर्छन्।
दही
दहीमा क्याल्सियम र प्रोटिन प्रशस्त मात्रामा पाइन्छ। त्यसैले दही स्वास्थ्यका लागि धेरै फाइदाजनक मानिन्छ। दहीको सेवनले शरीरलाई ऊर्जा मिल्नुका साथै पाचनसम्बन्धी समस्या कम गर्न मद्दत गर्छ।
त्यति मात्र हैन, यसले तनाव कम गर्नुका साथै गर्मी महिनामा दही सेवनले ठन्डा महसूस हुन्छ। तर, खाली पेटमा दही सेवन गर्नुले चाहिँ स्वास्थ्यसम्बन्धी समस्या निम्त्याउनसक्छ। खाली पेटमा दहीको सेवनले एसिडिटीको स्तर बढ्नुका साथै चिसो पनि लाग्ने गर्छ।
टमाटर
सलाद तथा तरकारीमा प्रयोग हुने टमाटरमा एन्टी अक्सिडेन्ट तत्व प्रशस्त मात्रामा पाइन्छ। यसले क्यान्सर तथा मुटु रोगको जोखिम कम गर्नुका साथै छालालाई स्वस्थ राख्न मद्दत गर्छ। टमाटरमा भिटामिन सी, भिटामिन के, पोटासियम तथा फोलेट पनि पर्याप्त पाइन्छ। तथापि, खाली पेट तथा गलत समयमा टमाटरको सेवनले एसिडिटी हुनुका साथै पत्थरी, ग्यास्ट्रिक तथा अल्सरको जोखिम कयौँ गुणा बढाउने गर्छ।
चिया वा कफी
चिया वा कफी मन नपर्ने व्यक्ति कमै हुन्छन्। चिया वा कफीको सेवनले रिफ्रेस महसूस हुन्छ। तर, खाली पेटमा चिया वा कफीको सेवन भने शरीरका लागि घातक हुनसक्छ। यसको सेवनले शरीरमा एसिडिटीको समस्या बढ्नुका साथै पेट पोल्ने तथा अपचको समस्या निम्तने हुन्छ। र, पछि गएर यो समस्या अल्सरमा परिणत हुनसक्छ।
पिरो तथा मसलेदार खानेकुरा
अमिलो पिरो भन्नासाथ हामी नेपालीको मुख रसाउने गर्छ। यस्ता खानेकुराको सेवनले खानाको स्वादसमेत बढाउँछ। तर, बिहानीपख पिरो तथा मसलेदार खानाको सेवनले भने अल्सरको समस्या दुई गुणा बढाउने गर्छ। किनकी मसलेदार खानाको सेवनले शरीरमा एसिडको स्तर बढ्ने गर्छ, जसले शरीरको पाचन तन्त्रलाई प्रभावित पारेर पेटमा ऐँठन हुने तथा पेट दुःख्ने गर्दछ।
औषधि
जुनसुकै स्वास्थ्यसम्बन्धी समस्यामा पनि औषधि आवश्यक हुन्छ। तर, खाली पेटमा यस्ता औषधि सेवनले अल्सर निम्त्याउन सक्छ। खासगरी, खाली पेटमा औषधिको सेवन गरेमा पेटमा एसिडको स्तर बढ्ने गर्छ, जसले छाती पोल्ने तथा अमिलो डकार आउने र पछि अल्सरको समस्या निम्तिनसक्छ।