विराटनगर । नयाँ सत्तासमीकरणअनुसार कोशी प्रदेशमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच मन्त्रालय भागबन्डामा सहमति भएको छ।
केन्द्रीय नेतृत्वको हस्तक्षेपपछि ९ वटा मन्त्रालय रहेको कोशीमा एमालेले ५ र नेकपाले ४ मन्त्रालय लिने सहमति भएको हो।
यसअघि नेकपाले ४ मन्त्रालय र १ राज्यमन्त्री माग गरेको थियो भने एमाले ३ मन्त्रालय र १ राज्यमन्त्री दिन तयार थियो। प्रदेश तहमा सहमति जुट्न नसकेपछि केन्द्रीय नेतृत्वबाटै भागबन्डा टुंग्याइएको हो।
मन्त्रालयको संख्या टुंगिए पनि कुन दलले कुन मन्त्रालय लिने भन्ने विषयमा भने सहमति हुन बाँकी छ। नेकपाले आर्थिक मामिला तथा योजना मन्त्रालयसहित ४ मन्त्रालय माग गरिरहेको छ।
नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग छलफलपछि मन्त्रालयको जिम्मेवारी टुंगो लाग्ने बताएका छन्।
दुई दलले आइतबारसम्म मन्त्रालयको भागबन्डा टुंग्याएर सोमबार नयाँ मन्त्रीलाई शपथ गराउने तयारी गरेका छन्।
चार मन्त्रालय पाएपछि नेकपाभित्र पनि आन्तरिक भागबन्डा गरिएको छ। पूर्वमाओवादी पक्षले ३ र पूर्वएकीकृत समाजवादी पक्षले १ मन्त्रालय लिने सहमति भएको छ।
कोशी प्रदेशसभामा नेकपाका १७ सांसद छन्। तीमध्ये पूर्वमाओवादी केन्द्रका १३ र पूर्वएकीकृत समाजवादीका ४ सांसद छन्। मन्त्रीको नाम टुंगो लगाउन नेकपाले शनिबार दिउँसो २ बजे संसदीय दलको बैठक बोलाएको छ।