काठमाडौँ । प्रतिनिधिसभाको बुधबारको बैठकमा तनाव सिर्जना भएको छ। बोल्ने समय नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदहरूले संसदको वेल घेराउ गरेर उग्र नाराबाजी सुरु गरेका छन्।
सभामुख डीपि अर्यालले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउन लाग्दा श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्क साम्पाङ (राई) सहितका सांसदहरूले आसनबाट उठेर विरोध जनाएका थिए। अध्यक्ष साम्पाङले आफ्नो पार्टीलाई संसदमा बोल्ने समय किन नदिएको भन्दै सभामुखसँग ¥हासिङ–बझासिङ गरेका थिए।
जवाफमा सभामुख अर्यालले श्रम संस्कृति पार्टीका तर्फबाट संसद सचिवालयमा बोल्नका लागि पूर्व–समय माग नभएकाले बुधबारको बैठकमा समय उपलब्ध गराउन नसकिने स्पष्ट पारेका थिए। सभामुखले नियम र प्रक्रियाको कुरा गर्दै संसदको कार्यसूची अगाडि बढाउन खोजेपछि आक्रोशित बनेका श्रम संस्कृति पार्टीका सांसदहरू रोष्ट्रम अगाडिको वेलमा पुगेर नाराबाजीमा उत्रिएका हुन्।
वेल घेराउपछि संसद बैठक अवरुद्ध बनेको छ भने सभामुखले सांसदहरूलाई आ–आफ्नो स्थानमा बस्न र संसदको मर्यादा राख्न आग्रह गरिरहेका छन्।
संसदमा श्रम संस्कृति पार्टीको अवरोधः समय नमागी बोल्न खोजेको भन्दै सभामुखको काउन्टर