नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयअनुसार प्रेस काउन्सिल नेपालको सदस्यमा नियुक्त भएकी निमा काफ्ले पत्रकारिता कहिल्यै नमर्ने र प्रविधिसँगै यसको अभ्यास र माध्यम बदलिने बताएकी छन् । नेपाली टेलिभिजन पत्रकारितामा दुई दशकभन्दा बढीको अनुभव बटुलेकी काफ्ले आजको मिडिया जगतमा एक सशक्त, व्यावसायिक र जिम्मेवार सञ्चारकर्मीका रूपमा परिचित रहेकी छन् । प्रस्तुत छ उनै नव नियुक्त सदस्य काफ्ले संग गरिएको कुराकानी :
सर्व प्रथम तपाईलाई हार्दिक बधाई छ । यो प्रेस काउन्सिलको विज्ञ सदस्यमा नियुक्ती हुनुभएको छ यसलाई कसरी लिनुभएको छ ?
धन्यवाद। यो नियुक्ति मेरो लागि सम्मान मात्र होइन, ठूलो जिम्मेवारी पनि हो। लामो अनुभव र प्रतिबद्धताले मलाई यो भूमिका जिम्मेवारीपूर्वक निभाउन तयार पारेको छ। म प्रेस काउन्सिलको उद्देश्य र गरिमालाई सर्वोच्च प्राथमिकतामा राख्दै, वर्तमान विधान र अधिकार क्षेत्रभित्र रहेर काम गर्नेछु। मिडिया क्षेत्रको निरन्तर परिवर्तनशील प्रकृतिलाई गहिरोसँग विश्लेषण गरी मर्यादित र जिम्मेवार पत्रकारिताको प्रवर्द्धनमा पूर्ण रूपमा समर्पित छु। आगामी दिनमा काउन्सिलका अध्यक्ष, बोर्ड सदस्य र सचिवालयसँग मिलेर स्पष्ट र ठोस कदम चाल्ने मेरो अटल प्रतिबद्धता छ। काउन्सिलको प्रभावकारी उपस्थितिका लागि अनुभवी व्यक्तिहरू र सरोकारवालाहरूसँग व्यापक परामर्श गर्दै अघि बढ्नेछु।
हाल प्रेस काउन्सिलले डिजिटल मिडिया, सामाजिक सञ्जाल र नयाँ सञ्चार माध्यमका दुरुपयोगबारे गम्भीर चासो व्यक्त गरेको छ। तपाईंको दृष्टिकोणमा समाधान के हो ?
डिजिटल मिडिया, सामाजिक सञ्जाल र नयाँ सञ्चार माध्यम आजको युगका सबैभन्दा प्रभावशाली माध्यमहरू बनेका छन्। चाहेर वा नचाहेर, अहिले एक व्यक्तिले सामाजिक सञ्जालमार्फत ठूलो प्रभाव पार्न सक्ने इनफ्लुएन्सर बन्न सक्छ। तर यी सबै माध्यमहरूलाई पत्रकारिता भन्न सकिँदैन। पत्रकारिताले यी आधुनिक प्लेटफर्महरूलाई सही तरिकाले प्रयोग गरेर सत्य र जिम्मेवार सूचना प्रवाह गर्नुपर्छ। तर यसको अर्थ यी माध्यमहरूलाई सामाजिक सद्भाव, आचरण र कानूनी मर्यादा उल्लंघन गर्न छुट भएको होइन। सामाजिक संरचना विथोल्ने, द्वेष फैलाउने र गलत सूचना सृजना गर्ने कार्यलाई निगरानी गर्नुपर्छ। र प्रेस काउन्सिलजस्ता संस्थाले मिडिया परिदृश्यमा भइरहेको तीव्र परिवर्तनलाई यथार्थपूर्वक स्वीकार्न आवश्यक छ। नयाँ प्रविधि र प्लेटफर्महरूको विकाससँगै नियमनको स्वरूप पनि आधुनिक बनाइनुपर्छ। अझै पनि काउन्सिललाई ‘कारबाही गर्ने मात्र निकाय’ भनेर बुझ्ने सोच प्रचलित छ, जुन अपूर्ण र भ्रामक हो। प्रेस काउन्सिलको भूमिका केवल निगरानी र नियन्त्रणमा सीमित हुनुहुँदैन। काउन्सिलले नयाँ मिडिया प्रवृत्ति, सामग्रीको गुणस्तर, सम्पादकीय जिम्मेवारी र सूक्ष्म मूल्यांकन गरी नीतिगत स्पष्टता ल्याउनुपर्छ। कडा निगरानी र आवश्यक कारबाही अत्यन्त जरुरी भए तापनि, त्यो सधैं अन्तिम उपाय हुनुपर्छ। पहिला संवाद, तालिम, सचेतना र सहकार्यबाट समस्याको मूल तहमा पुग्ने प्रयास गर्नुपर्छ। राज्य, प्रेस काउन्सिल र सम्पूर्ण पत्रकार समुदायबीच पारदर्शी समन्वय अनिवार्य छ।
प्रेस काउन्सिल भविष्यमा कस्तो बनोस् भन्ने तपाईंको सपना के हो ?
आज विश्वका प्रतिष्ठित मिडिया संस्थाहरूले एआईलाई समाचार सम्पादन र सामग्री निर्माणको मूल केन्द्रमा राखिसकेका छन्। नेपालमा पनि यो प्रवृत्ति तीव्र गतिमा अघि बढिरहेको छ, र प्रेस काउन्सिलले यो यथार्थलाई जिम्मेवारीपूर्वक स्वीकार गर्न जरुरी भइसकेको छ। हामीले यसलाई चुनौती मात्र होइन, अवसरका रूपमा पनि लिनुपर्छ। यो प्रविधिगत परिवर्तनले अपार सम्भावना ल्याएको छ। तर त्यससँगै गम्भीर चुनौतीहरू पनि बढिरहेका छन्-फेक न्यूज, डिपफेक, तथ्यहीन प्रचार, र एल्गोरिदमको प्रभावमा सिर्जना हुने गलत धारणाहरू। अब प्रेस काउन्सिल नीति निर्माण, अनुसन्धान, प्रविधि विश्लेषण र सार्वजनिक सरोकारमा आधारित संस्थागत नेतृत्वको दिशामा अघि बढ्नुपर्छ।
अन्त्यमा, एक महिला सञ्चारकर्मीका हैसियतमा यो जिम्मेवारीले महिला पत्रकारको प्रतिनिधित्व कति महत्वपूर्ण रूपमा तपाईलाई देखिएको छ ?
महिला नेतृत्व अब कुनै अपवाद होइन, यो हाम्रो सामान्य र आवश्यक स्थिति बन्नु पर्छ। हामीले ‘अनुमति’ वा ‘स्वीकृति’को प्रतिक्षा गर्न पर्दैन। निर्णायक ठाउँमा पुग्नका लागि आवश्यक आत्मविश्वास, क्षमता र प्रतिबद्धता हामीसँग पूर्ण रूपमा छ। नेपाल पत्रकार महासंघमा निर्मला शर्माले पहिलो महिला अध्यक्षको रूपमा पुर्याएको उपलब्धि अझै पनि प्रेरणादायी छ र त्यो बाटो हिँड्दै अब महिला पत्रकारहरू अझ सशक्त रूपमा नेतृत्व र निर्णय प्रक्रियामा सहभागी भइरहेका छन्। मेरो नियुक्ति महिलाको प्रतिनिधित्वका लागि मात्र होइन, क्षमता, मिडियामा लगानी र स्पष्ट दृष्टिकोणका आधारमा हो। यो महिलाको मात्र नभएर सबैका लागि उदाहरण हो।