काठमाडौँ – आइसिसी विश्वकप लिग-२ अन्तर्गत क्यानडा र ओमानविरुद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार राति क्यानडा प्रस्थान गर्दैछ।
क्यानडा जानुअघि, नेपाली टोलीको मंगलबार विहान विशेष विदाइ गरिएको थियो। नेपाली टोलीमा केही परिवर्तन गरिएको छ, जसअन्तर्गत तीव्र गतिका बलर रिजन ढकाल र विकेटकिपर ब्याटर अर्जुन साउदले पुनरागमन गरेका छन् भने सन्दीप जोरा, सागर ढकाल, र आकास चन्द टोलीबाट बाहिरिएका छन्।
सिरिजको तालिका र खेल संख्या
क्यानडामा हुने एकदिवसीय सिरिज भदौ ३१ गतेदेखि सुरू हुँदैछ, जुन असोज १० गतेसम्म चल्नेछ। त्यहीँ असोज १२ बाट टी-२० सिरिज सुरु हुनेछ। नेपालले दुवै सिरिजमा चार-चार खेल खेल्नेछ, जसबाट कुल ८ खेल हुनेछन्।
नेपालले यसअघि लिग-२ को पहिलो सिरिज घरेलु मैदानमा खेलेको थियो, जहाँ नेदरल्यान्ड्स र नामिबियाविरुद्धको सिरिजमा नेपालले एक खेल मात्र जित्न सफल भएको थियो भने तीन खेलमा पराजय भोगेको थियो।
क्यानडापछि अमेरिकामा अर्को सिरिज
क्यानडाको सिरिज पछि नेपाली टोलीले अक्टोबरमा अमेरिकामा अर्को त्रिकोणात्मक सिरिज खेल्नेछ। उक्त सिरिजमा नेपाल, अमेरिका, र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ।
एकदिवसीय सिरिज खेल तालिका
- नेपाल भर्सेस क्यानडा – भदौ ३१ – नेपाली समयअनुसार बेलुका ७:४५ बजे – ओन्टेरियो
- नेपाल भर्सेस ओमान – असोज २ – नेपाली समयअनुसार बेलुका ७:४५ बजे – ओन्टेरियो
- नेपाल भर्सेस क्यानडा – असोज ६ – नेपाली समयअनुसार बेलुका ७:४५ बजे – ओन्टेरियो
- नेपाल भर्सेस ओमान – असोज ८ – नेपाली समयअनुसार बेलुका ७:४५ बजे – ओन्टेरियो
टी-२० सिरिज खेल तालिका
- नेपाल भर्सेस क्यानडा – असोज १२ – नेपाली समयअनुसार बेलुका ९:४५ बजे – ओन्टेरियो
- नेपाल भर्सेस ओमान – असोज १३ – नेपाली समयअनुसार बेलुका ९:४५ बजे – ओन्टेरियो
- नेपाल भर्सेस क्यानडा – असोज १५ – नेपाली समयअनुसार बेलुका ९:४५ बजे – ओन्टेरियो
- नेपाल भर्सेस ओमान – असोज १६ – नेपाली समयअनुसार बेलुका ९:४५ बजे – ओन्टेरियो
नेपाली टोली
क्यानडामा खेल्न जाने नेपाली टोलीको कप्तानी रोहित पौडेलले गर्नेछन्। टोलीमा कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी, र देव खनाल (ट्राभलिङ रिजर्भ) रहेका छन्।