नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको प्रदेश सम्मेलन उद्घाटन गरेका छन् ।
शनिबार प्रचण्डले एकसाथ १० प्रदेशकै अधिवेशन काठमाडौंबाट उद्घाटन गरेका हुन् । प्रचण्डले सात भौगोलिकसहित अन्य ३ गैरभौगोलिक प्रदेशको सम्मेलन भर्चुअल माध्यमबाट संयुक्त रुपमा गरे ।
माओवादी केन्द्रले प्रदेश नम्बर १ को विराटनगर, प्रदेश नम्बर २ को जनकपुर, बागतीको काठमाडौं, गण्डकीको पोखरा, लुम्बिनीको भालुवाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्मेलन गरेको हो । अधिवेशनले प्रदेशमा नयाँ कमिटी गठन गर्नेछ ।
माओवादी केन्द्रको प्रदेश समितिमा अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव, कोषाध्यक्ष गरेर नौ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।
प्रदेशमा १ मा २५९, प्रदेश २ मा २७१, बागमतीमा २७५, गण्डकीमा २२९, लुम्बिनीमा २५३, कर्णालीमा २११ र सुदूरपश्चिम प्रदेशमा २२३ सदस्यीय समिति गठन हुनेछ । विशेष, सम्पर्क र प्रवास समिति न्यूनतम् १७५ सदस्यीय हुनेछन् ।
माओवादीले यसअघि यही मंसिर ११ गते पालिका सम्मेलन सम्पन्न गरेको थियो। माओवादीको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म राजधानी काठमाडौंमा हुँदैछ ।