नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी मनोनयन प्रक्रिया जारी छ ।
आज बिहान १० बजेदेखि मनोनयन प्रक्रियाअनुरुप उम्मेदवारी दर्ताको लागि फाराम वितरण सुरु भएको थियो । मनोनयन दर्ता भृकुटीमण्डप र राष्ट्रियसभा गृहमा जारी छ ।
निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार निर्वाचन समितिले मनोनयनको लागि आज साँझ ५ बजेसम्म समय निर्धारण गरिएको छ । आइतबार दावी विरोध सकेर अन्तिम नामावाली प्रकाशन गरिनेछ । उम्मेदवारी मनोनयनका लागि २० स्थानमा व्यवस्था गरिएको छ ।
मतदान सकिएपछि सभापतिको उम्मेदवारको मतगणना राष्ट्रिय सभा गृहमा हुनेछ । पहिलो चरणमा खसेको मतको ५१ प्रतिशत नआए भोलीपल्टै पुनः मतदान हुनेछ । सभापति बाहेकका उम्मेदवारको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा मतगणना हुने संयोजक घिमिरेले जानकारी दिए । यस पटक विभिन्न क्लस्टरका २९ वटा मतपत्र रहेको छ ।
मनोनयनमाथि दाबी विरोध सकेर २७ गते बिहान ८ बजेदेखि मतदान सुरु हुने कांग्रेसले जनाएको छ । कांग्रेसमा चार हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका छन् । निर्वाचनबाट देशभरबाट आएका महाधिवेशन प्रतिनिधिले १३४ पदाधिकारीसहितको केन्द्रीय समिति चयन गर्नेछ । पदाधिकारीतर्फ एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ ।
त्यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी जनजाति, १५ खस आर्य १३, मधेसी नौ, दलित चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक अल्पसङ्ख्यकबाट एक, अपाङ्गताबाट एक सदस्य निर्वाचित हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।
कांग्रेसको महाधिवेशन शुक्रबार एक भव्य समारोहका बीच उद्घाटन भएको थियो । गएराति नै सुरु भएको बन्दसत्रमा उपसभापति विमलेन्द्र निधिले नीति, प्रशिक्षण तथा अनुसन्धान प्रतिष्ठानको प्रतिवेदन, महामन्त्री पूर्णबहादुर खड्काले साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष सीतादेवी यादवले लेखा समितिको प्रतिवेदन पेश भई बन्द सत्रले ती प्रतिवेदन पारित गरिसकेको छ । कांग्रेस पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गर्ने क्रम जारी रहेको छ ।