शुक्रबार कांग्रेस महाधिवेनमा बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नयाँ व्यवस्था लागू गर्नुपर्ने बताएका छन् ।
उनले नयाँ व्यवस्थाबारे भनेका थिए, ‘राष्ट्र प्रमुखको रुपमा राजसंस्था, जनताले सिधै छान्ने प्रधानमन्त्री, पूर्ण समानुपातिक सांसद र सांसदले मन्त्री बन्न नपाउने नयाँ व्यवस्था लागू गरेर जाउ ।’
उनले हिजोआज नेतालाई जनताले चोर भन्ने थालेको बताए । उनले भने, ‘हिजोआज गाउँमा नेता आउँदै हुनुहुन्छ भन्दा नेताको नाम सम्झिँदैनन्, कुन चाहीँ चोर आएछ भन्छन् ।’
उनले दलहरूको महाधिवेशन नेतृत्वको छवि सुधारमा केन्द्रित हुनुपर्ने बताए ।
कांग्रेस महाधिवेशनका कारण एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लामो समयपछि एउटै मञ्चमा देखिएका थिए ।
धेरैलाई लागेको थियो, यी तीन नेताबीच घोचपेच होला । किनकी हरेक कार्यक्रममा यी नेताबीच घोचपेच, आरोप–प्रत्यारोप चलिरहन्थ्यो ।
तर, धेरैको अनुमान विपरित यी तीन नेताबीच कुनै घोचपेच चलेन । बरु राप्रपाका अध्यक्ष लिङ्देन आफ्नो भाषणका कारण यी तीन नेताको तारो बने र सबैले लिङ्देनको जवाफ फर्काए ।
लिङ्देनले नयाँ व्यवस्था लागू गर्नुपर्ने भन्दै दिएको भनाईको एकीकृत समाजवादीका अध्यक्ष नेपालले जवाफ फर्काए ।
नेपालले लिङ्देनको भनाइप्रति संकेत गर्दै भने, ‘नेपालको राजनीतिमा कालो बादल मडारिन खोजिरहेको छ । प्रतिगामी तत्वहरूलाई फेरि शिर उठाउने दुस्साहर नगर्न चेतावनी दिन्छु । नदीको प्रवाह अघि बढिसकेको छ । राजतन्त्रको भविष्य र सम्भावना छैन । पूर्वराजाले बरु नयाँ पार्टी वा पसल खोले हुन्छ । एउटा बंशको शासन स्विकार्य छैन ।’
त्यसपछि बोलेका प्रचण्ड पनि लिङ्देनमाथि नै खनिए र जवाफ फर्काउँदै भने, ‘गाउँघर जाँदा चोर भन्छन् भन्ने कुरा झूट हो ।’
त्यसपछि एमाले अध्यक्ष ओलीले लिङ्देनलाई कटाक्ष गर्दै भर्खर जन्मेको बाच्छोको संज्ञा दिए ।
ओलीले लिङ्देनलाई कटाक्ष गर्दै भने, ‘नयाँ–नयाँ अध्यक्ष भएको रापताप होला । भर्खर भर्खरको बाच्छो हिँड्न जान्दैन, बढी कुद्छ । विस्तारै राम्रो हुन्छ ।’