जिल्ला कारागारभित्रका कैदीबन्दीको कारागारभित्रै आम्दानीको श्रोत बनेको छ । कारागारभित्रै कदीबन्दी सिलाई व्यवसाय सञ्चालन गरेर आम्दानी गर्न थालेका छन् ।
कारागारबाहिर हुँदा सिलाई व्यवसाय गर्दै आएका गुरुदेव रानाको अहिले कारागारभित्रै सामान्यतया ६र७ हजार रुपैयाँ आम्दानी हुने गरेको छ । आफुलेबाहिर पसल सञ्चालन गर्दा चिनेका ग्राहकहरु अहिले पनिभित्रै सिलाउन आउने गरेका छन् । “त्यतिकै बस्नुभन्दा आफ्नो सीपको प्रयोग गरेर बसेको छु,” रानाले भने, “कपडा सिलाउन कारागार प्रशासनले सिलाई मेसिन उपलब्ध गराएको छ ।” रानाले कारागारको बाहिर नै सिलाई कटाईको लागि बोर्ड राखेका छन् ।
बजारको मूल्यभन्दा सस्तो मूल्यमा लुगा सिउने काम गर्ने गरेको उनले बताए । “बाहिरको दररेट भन्दा एकसय रुपैयाँ कम मूल्यमा कपडा सिलाउने गरेको छु । बाहिर हुँदा भाडा तिर्नुपर्ने हुन्थ्यो । भित्र भाडा तिर्नुपर्दैन्, एक सय कम गर्दा पनि आफ्नो व्यक्तिगत खर्च चलाउन पुगिहाल्छ,” उनले भने ।
उनि मात्रै हैन अहिले कारागारभित्र तीन जना सिलाई व्यवसाय गर्ने व्यक्ति रहेका छन् । कपिलरा कोली, धिरज परिवार पनि गुरुदेव रानासँगै सिलाई गर्छन् । “अहिले मेसिन अभाव भएको छ,” कारागार दार्चुलाका जेलर विरेन्द्रसिह धामीले भने, “मेसिनको लागि माग भएको छ ।”
पहिले एक जना मात्रै लुगा सिउने व्यक्ति थिए, उनले भने, अहिले दुई जना थपिएसँगै तीन जना पुगेका छन् । तर हामीसँग मेसिन दुई वटा मात्रै छ । भित्रै त्यतिकै बस्नुभन्दा सिकेको सीप प्रयोग गर्छौ भनेपछि मेसिन देखि उनीहरुलाई चाहिने समान व्यवस्थापन गरिदिएको उनले बताए । थप मेसिन र कारागारका कैदीबन्दीहरुको लागि आवश्यक तालिम दिने तयारी रहेको उनले बताए ।