संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेमगरले दुई वर्षभित्रै मझगाउँ विमानस्थल सञ्चालनमा ल्याउने बताएका छन् ।
बुधबार महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल क्षेत्रको अवलोकनका क्रममा उहाँले विमानस्थलको धावनमार्गको क्षेत्रफल बढाएर भए पनि विमानस्थल सञ्चालन गरिने बताए । “विमानस्थलसँग ७० बिघा जग्गा रहेको छ”, उनले भने “दक्षिणतर्फको ५०० मिटर जग्गा अधिग्रहण गरी विमानस्थल विस्तार गर्छौं ।”
बन्द विमानस्थल सञ्चालन गर्नका लागि रु ५३ करोड ६० लाख बजेट विनियोजन भइसकेको उल्लेख गर्दै उहाँले बोलपत्र आह्वान (टेण्डर)को कार्य पूरा भएको बताए । “बोलपत्र आह्वान भइसकेको छ”, उनले भने, “काठमाडौँ फर्केलगत्तै सम्झौता गर्छौं । काम सुरु हुन्छ ।” उहाँले कैलालीको गेटा विमानस्थललाई क्षेत्रीयस्तरको बनाउनका लागि समेत कार्य अगाडि बढाइएको बताए ।
बजेटका कारण विमानस्थलसम्बन्धी कार्य अगाडि बढ्न नसकेको उल्लेख गर्दै उहाँले बजेट चाँडै स्वीकृत भएपछि कार्य सुरु हुने बताए । आरक्ष पीडितको समस्या समाधानका लागि कार्य अगाडि बढाइने मन्त्री आलेमगरको भनाइ थियो ।