लागु औषध सहित जिल्ला प्रहरी कार्यालय पर्साले दुई जनालाई पक्राउ गरेको छ । पर्सा वीरगन्ज महानगरपालिका १६ शंकराचार्य गेट नजिक बाट उनीहरूलाई प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले बुधबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौँ तारकेश्वर नगरपालिका वडा नम्बर ८ मनमैँजु बस्ने वर्ष २६ का रवीन्द्र खत्री र मकवानपुर हेटौँडा उपमहानगरपालिका १६ बस्ने वर्ष १९ का राकेश गुरुङ रहेका छन् ।
पैदल हिँडिरहेका उनीहरूलाई शङ्काको भरमा चेकजाँच गर्दा उनीहरूको गोजीबाट पत्रिकामा बेरी लुकाइछिपाई ल्याएको लागु औषध डाईजेपाम १०० एम्पुल, नुर्फिन १०० एम्पुल, फेनार्गन १०० एम्पुल गरी जम्मा ३०० एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालय वीरगन्जले जनाएको छ । पक्राउ परेका दुवै जनालाई लागु औषध सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।