कञ्चनपुरमा विङ्गरबाट खसेर सहचाकलकको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गस्थित कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी सडकखण्डमा आज साँझ विङ्गरबाट खसेर उनको मृत्यु भएको हो ।
महेन्द्रनगरबाट धनगढीतर्फ यात्रु बोकेर गइरहेको म १ ज २०९० नम्बरको विङ्गरबाट खसेर सहचालक भीमदत्त नगरपालिका– ६ का ४० वर्षीय दानसिंह बुडालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
विङ्गरको ढोकाको लक खुलेपछि बुडाल सडकमा खसेका थिए । उनको टाउकामा गम्भीर चोट लागेपछि उपचारका लागि तत्कालै कैलालीको धनगढीस्थित माया मेट्रो अस्पताल पुर्याइएको थियो ।
अस्पतालमा उपचारका क्रममा बुडालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए । विङ्गर र चालक इलाका प्रहरी कार्यालय झलारीको नियन्त्रणमा छन् । मृतको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पाल धनगढीमा राखिएको छ ।