भन्सार सहुलियतको चिनी नआएपछि यहाँ चाडपर्व लक्षित सुपथ मूल्य पसल खुल्न सकेको छैन । दसैँ मुखैमा आइपुग्दा पसल खुल्ने-नखुल्ने अनिश्चित छ ।
चिनी नहुँदा पसल सञ्चालनमा ढिलाइ भएको साल्ट ट्रेडिङ कर्पोरेशन बागलुङ कार्यालयले जनाएको छ । गत वर्ष पनि कोभिड–१९ का कारण पसल खुल्न सकेको थिएन । कार्यालय प्रमुख मनोजकुमार श्रेष्ठले केन्द्रबाट बिक्री मूल्यसमेत तोकिए पनि चिनी भने नआएको बताए । “भारतबाट भन्सार छुटमा आउनुपर्ने चिनी नै नआएको भन्ने बुझिएको छ”, उनले भने, “चिनी आउँदासाथ सुपथ पसल खोल्ने हाम्रो तयारी छ ।”
दसैँअघि पसल खोल्न अब असम्भव देखिन्छ । बेलैमा चिनी आए तिहार र छठलाई लक्षित गरेर पसल खोल्ने योजना कार्यालयले बनाएको छ । सहज स्थितिमा दशैँको नवदुर्गा लाग्नुअगावैदेखि पसल सञ्चालनमा आइसक्थ्यो ।
चाडपर्वका बेला उपभोक्तालाई थोरै भएपछि सहुलियत दिने उद्देश्यले कर्पोरेशनले सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । बजार भाउ चर्किएका बेला सस्तो पसलले कम मूल्यमा चिनी र नून बेच्ने गर्छ । कार्यालय प्रमुख श्रेष्ठले काठमाडौँबाहेक बाहिर रहेका संस्थानका कार्यालयमा चिनी नभएको बताए ।
“वीरगञ्जमा रहेको संस्थानको डिपोमा सोध्दा पनि चिनी आएको छैन भन्ने जवाफ आयो”, उनले भने , “मन्त्रालय तहबाटै पक्रिया लम्बिए जस्तो देखिन्छ ।” चाडपर्वमा अभाव हुन नदिन कर्पोरेशनले गत वैशाखमै भन्सार छुटमा ५० हजार मेट्रिक टन चिनी ल्याउन सरकारसँग माग गरेको थियो ।
अर्थ मन्त्रालयको स्वीकृतिमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी आयात गर्छ । चिनी खरिदको प्रक्रिया लम्बिदा त्यसको प्रत्यक्ष मार उपभोक्तामा परेको छ । पसल खुले सस्तोमा चिनी÷नून किन्न पाइने आशमा उपभोक्ता छन् । पसल सञ्चालनमा आउँदा दैनिक सयौँको लाम लाग्छ । भीड व्यवस्थापन र सेवा प्रवाहमा कर्मचारीलाई नै हम्मेहम्मेको स्थिति बन्छ ।
पसलबाट करोडौँको चिनी र नून बिक्री हुन्छ । कर्पोरेशनबाहेक खाद्य व्यवस्था तथा व्यापार कम्पनी, नेसनल ट्रेडिङ लिमिटेड, खाद्य संस्थान र दूग्ध विकास संस्थानले पनि विभिन्न ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्छन् । दसैँअघि खुल्ने त्यस्ता पसलले छठसम्म उपभोक्तालाई सेवा दिन्छन् । -रासस