नेकपा एमालेले बागमती प्रदेश कमिटीलाई पूर्णता दिएको छ । एमालेले बागमतीमा आनन्द पोखरेल अध्यक्ष र खेम लोहनी सचिव रहेको ४ सय ७७ सदस्यीय प्रदेश महाधिवेशन आयोजक कमिटी गठन गरेको हो ।
बिहीबार टुंगो लागेको प्रदेश महाधिवेशन आयोजक कमिटीका सदस्यहरुले भोलिदेखि सुरू हुने विधान महाधिवेशनमा भाग लिन पाउने अध्यक्ष पोखरेलले बताए । यता प्रदेश कमिटीको इन्चार्जमा भने रामवहादुर थापा बादल नै कायम रहेका छन् ।
यसअघि १० बुँदे सहमति अनुसार जेठ २ अघिका इन्चार्जहरु नै कायम हुने भनिए पनि बागमतीमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य मुख्यमन्त्रीसमेत रहेकाले सहमतिमै नेतृत्व टुंगो लागेको हो । शाक्यलाई प्रदेशको शीर्ष स्थानमा राखेर शेरबहादुर तामाङ, काशिनाथ अधिकारी, अरुण नेपाल, कृष्णगोपाल श्रेष्ठ र डोरमणी पौडेललाई सहइन्चार्जको जिम्मेवारी दिइएको छ ।