एमालेले आगामी शुक्रबारबाट सुरु हुने पहिलो विधान महाधिवेशनको तयारी तीव्र पारेको छ । मुख्य विपक्षी तथा संघीय संसदमा सबैभन्दा ठूलो दल नेकपा एमाले विधान महाधिवेशनको अन्तिम तयारीमा छ । महाधिवेशन यही असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीमा हुँदैछ । एमालेले आयोजना गरेको यो प्रथम विधान महाधिवेशन हो ।
दुई वरिष्ठ नेताहरू माधवकुमार नेपाल र झलनाथ खनाल अलग भई नयाँ पार्टी दर्ता गराएपछि उत्पन्न फरक परिस्थितिमा एमालेको विधान महाधिवेशन हुन लागेको छ ।
प्रचार उपसमितिले मङ्गलबार सम्पादकहरूसँग आयोजना अन्तक्र्रिया कार्यक्रम दिइएको जानकारी अनुसार विधान महाधिवेशनमा पार्टी विधान संशोधन र नीतिगत विषयमा प्रतिनिधिहरूबीच छलफल र निर्णय हुनेछ ।
महाधिवेशन गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मलेन केन्द्रको सनराइज हलमा हुनेछ । निर्माणाधीन उक्त सम्मलेन केन्द्रको तयारी हलमा हुन लागेको यो पहिलो सभा हो । महाधिवेशनमा देशभरिका ५ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने जनाइएको छ ।