व्रिटिस सरकारको सांस्कृतिक शाखाको रुपमा सञ्चालित व्रिटिस काउन्सिलका २० वटा देशका शाखाहरु बन्द हुने भएका छन्।
कोरोनाभाइरस महामारीका कारण काउन्सिलले आर्थिक नोक्सानी व्यहोर्नुपरेका कारण यस्तो निर्णय गरिएको हो। ‘सहायता बजेटमा कटौती र आयको कमीका कारण दुनिया भरमा २० कार्यालयहरु बन्द गरिनेछ,’ काउन्सिलले भनेको छ।
यद्दपी शाखा बन्द गर्न लागिएका देशहरुमा ‘डिजिटल’ माध्यमबाट सेवा प्रदान गर्ने तयारी भइरहेको काउन्सिलले जनाएको छ। आईइएलटिएसजस्ता भाषा परिक्षा सञ्चालनमार्फत आम्दनी गर्दै आएको व्रिटिस काउन्सिल कोभिड महामारीका कारण नियमित भाषा परिक्षा सञ्चालन नहुँदा समस्यामा परेको हो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यममा प्रकाशीत समाचारहरुका अनुसार अफगानिस्तान, चिली, नामिबिया, सियरा लियोन, दक्षिण सुडान र उरुग्वेका शाखाहरु बन्द हुने अनुमान गरिएको छ। यस्तै नेपालको शाखा पनि बन्द हुने अनुमान छ ।
नेपालमा आइएलटिएसको परिक्षा लिँदै आएको अर्को संस्था आइडिपीले नेपालको शाखा खरिद गर्ने मनसाय बनाएको बताइन्छ। नेपाल आइडिपी एजुकेशनमार्फत शैक्षिक परामर्श व्यवसाय पनि सञ्चालन गर्दै आएको आइडिपीले व्रिटिश काउन्सिलको आइएलटिएस परिक्षा सञ्चालनमा एकाधिकार जमाउने प्रयासमा छ।
हाल नेपालमा व्रिटिश काउन्सिल र आइडिपीले आइएलटिएसको परिक्षा सञ्चालन गर्दै आएका छन्। व्रिटिश काउन्सिलको समेत स्वामित्व खरिद गर्न सकेको खण्डमा आइडिपीले शैक्षिक परामर्श क्षेत्रमा समेत एकाधिकार कायम गर्न सहज हुने बुझाई छ।
व्रिटिश काउन्सिलले यसअघि गतवर्ष नै ४७ मध्ये ४४ भाषा स्कुल र २२३ मध्ये १९५ भाषा परीक्षा केन्द्रहरु बन्द गरिसकेको थियो। अहिले संसारभरम व्रिटिश काउन्सिलका २८ वटामात्र परिक्षा केन्द्रहरु सञ्चालनमा छन्।