काठमाडौं महानगरपालिकाले वडा नं १९ का वडाध्यक्ष शशिलाल श्रेष्ठको निधनमा आज एक दिन शोक बिदा दिएको छ। पैसठ्ठी वर्षीय श्रेष्ठको उपचारका क्रममा बिहीबार नर्भिक अस्पतालमा मस्तिष्कघातका कारण निधन भएको हो।
उनको निधन अकल्पनीय भएको जनाउँदै महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले मृतात्माको चीर शान्ति र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्। यसैगरी उपप्रमुख हरिप्रभा खड्गीले महानगरले ठूलो क्षति व्यहोर्नुपरेको जनाउँदै मृतात्माको चीर शान्तिको कामना गरेका छन्।
उनको शव आज बिहान ८ः०० बजे अस्पतालबाट अन्तिम श्रद्धाञ्जिलका लागि वडामा लगिनेछ। बिहान ९ः०० देखि अपराह्न ३ः०० बजेसम्म वडामा राखेपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिने वडा सदस्य चन्द्रमान डङ्गोलले जानकारी दिए।