सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको ऊर्जा मन्त्रालय स्रोतले जानकारी दिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मन्त्रिपरिषद्मा यससम्बन्धी प्रस्ताव लगेकी थिइन्। प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई भने जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको स्रोतले बताएको छ। तर, मन्त्रिपरिषद्को उक्त निर्णय हालसम्म गोप्य राखिएको छ।
मन्त्रिपरिषद्बाट निर्णय भए पनि घिसिङले नियुक्तिपत्र पाएका छैनन्। उनलाई आजै पदबहाली गराउने तयारी गरिए पनि नियुक्तिपत्र तयार नभएका कारण रोकिएको बताइएको छ। सम्भवत: भोलि (बुधबार) घिसिङले पदबहाली गर्ने छन्।