दाम्लाले बाँधेर युवालाई कुटपिट गर्ने जाजरकोटको जुनिचाँदे गाउँपाका- २ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन्। साउन १५ गते स्थानीय सर्ते नेपाली (नवीन परियार) लाई डोरीले बाँधेर कुटपिट गरेका उनलाई बिहीबार जाजरकोट प्रहरीले घरबाटै पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय पञ्चालाको टोलीले उनलाई सदरमुकाम खलंगा झिकाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले जानकारी दिए। उनलाई भिडियोका आधार र प्रहरी प्रतिवेदन अनुसार मुद्दा चलाइ कानून बमोजिम कारबाही गरिने प्रहरी निरीक्षक पाण्डेले जानकारी दिए।
पीडितलाई पनि सदरमुकाम बोलाइएको छ। पीडितले अहिलेसम्म जाहेरी दिएका छैनन्। पीडितको बयान, घटनाको प्रकृति र भिडियोलाई आधार मानेर कानुनी कारबाही हुनने प्रहरीले जनाएको छ।
सामाजिक सुरक्षा भत्ता बाँड्ने क्रममा होहल्ला गरेको भन्दै वडाध्यक्ष नेपालीसहित केही व्यक्तिले सोही ठाउँका नेपालीलाई कुटपिट गरेका थिए। स्थानीय एक युवकले खिचेको भिडियोमा वडाध्यक्ष आफैंले कुटपिट गरिरहेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।
उक्त भिडियोमा वडाध्यक्ष आफैंले कुटपिट गरिरहेको देखिन्छ। वडाध्यक्ष नेपालीले दाम्लोले हातखुट्टा बाँधेर कुटपिट गरिरहेका छन्। हल्ला किन गरेको भन्दै लुगा च्यातिने गरी वडाध्यक्ष नेपालीसहितको टोलीले कुटपिट गरेको देखिन्छ। घटना साउन १५ गते भएको स्थानीयले बताएका हुन्।
वडाध्यक्ष नेपाली भने पत्र जारी गर्दै आफूले कुटपिट नगरेको दाबी गरेका छन्। भिडियोमा भने उनी आफैंंले कुटपिट गरेको देख्न सकिन्छ। उनले सम्झाइबुझाइ गर्दा अटेर गरेपछि केही व्यक्तिले कुटपिट गरेको बताएका थिए। उनले भने, ‘ढुंगामुढा गर्दै हिँडेर जथाभाबी बोलेपछि आमाबाबुकै आग्रहमा हामीले नियन्त्रणमा लिने प्रयास गरेका हौंं।’
नवीन र आफूबीच कुनै दुस्मनी नभएको उनले बताए। पीडितका पिता रंगे दमाईं पनि परिवार र वडाध्यक्षबीच दुस्मनी नभएको बताउँछन्। नवीनकी आमा सुन्दा नेपालीले भने घटना अकस्मात् भएको जानकारी दिइन्।
यस्तो छ कुटपिटपछि वडाध्यक्षले जारी गरेको पत्र:

हेर्नुहोस् भिडियो :