सरकारले कोरोना भाइरसविरुद्धको खोपको दोस्रो मात्रा आगामी शुक्रबार (यही साउन २२ गते) देखि सञ्चालन गर्ने भएको छ। पहिलो मात्रा लगाएको २१ दिन पुगेका सबैलाई दोस्रो मात्राको खोप दिन थालिएको हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आगामी शुक्रबारदेखि लगाउने निर्णय गरेको हो।
गत असार २९ गतेदेखि सञ्चालन भएको पहिलो मात्रा खोप लगाएका ५५ वर्षभन्दा माथि उमेर समूहका मानिसलाई लगाइने भएको स्वास्थ्य सेवा विभागले जनाएको छ। आफूलाई पायक पर्ने काठमाडौँ जिल्लाका ४२ वटा खोप केन्द्रमा गएर खोप लगाउन आग्रह गरिएको छ। मन्त्रालयले खोप लगाउन बाँकी रहेका व्यक्तिलाई मन्त्रालयको वेबसाइटमा गएर दर्ता गर्नसमेत आग्रह गरेको छ।