धरानस्थित विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मौलाएको बेथितीविरुद्ध नागरिक समाजले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।
मंगलबार साँझ ४ बजे भएको उक्त प्रदर्शनमा प्रदर्शनकारीहरुले हातमा, ‘विपीलगायतका प्रतिष्ठान र विश्वविद्यालयमा दलीयकरण बन्द गर’, ‘नो ब्याड पोलटिक्स इन विपी’ लगायतका विभिन्न नारा लेखिएका प्लेकार्ड देखाएर विरोध जनाएका थिए।
‘सरकारले विपीमा छानविन गर्न छानविन कमिटी गठन गरेपछि हामीले दुई दिनका लागि आन्दोलन स्थगित गरेका थियौँ,’ प्रदर्शनमा उपस्थित एक प्रदर्शनकारी तथा विपीका भुपु विद्यार्थी डा. कुम्भराज जोशीले नेपाली पब्लिकसँग भने, ‘तर, सरकारले गठन गरेको छानविन कमिटीले आफ्नो काम अगाडि नबढाएपछि हामी फेरि प्रदर्शनमा उत्रिन बाध्य भएका हौँ।’
डा. जोशीले अब यो आन्दोलन निरन्तर रुपमा अगाडि बढ्ने बताएका छन्। आज बाक्लो संख्यामा चिकित्सकहरु जिम्मा भएर विरोध जनाउने कार्यक्रम तय भएको, तर वर्षाका कारण चिकित्सकहरु उपस्थित हुन नसकेको उनले बताए।
‘आगामी दिनमा हामी र नागरिक समाज मिलेर यो आन्दोलनलाई थप शसक्त बनाउँदै लग्नेछौँ।’ डा. जोशीले आफूहरुको भावी रणनीतिबारे जानकारी दिए।
विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मौलाएको बेथितीविरुद्ध विपीका चिकित्सक, नर्स, विद्यार्थी तथा कर्मचारीहरु विगत एक महिनादेखि आन्दोलित छन्।
हेर्नुहाेस् तस्वीरहरू:



