साउदी अरबले कोरोना खोप लगाएका व्यक्तिलाई आफ्नो देशमा प्रवेश गर्न दिने भएको छ। कोभिड– १९ विरुद्ध दुबै खोप लगाएका व्यक्तिलाई साउदी अरबले प्रवेश दिने अनुमति दिने निर्णय गरेको छ। साउदीको यो निर्णयसँगै हजारौँ नेपाली श्रमिकहरु लाभान्वित हुने भएका छन्। साउदीले जोन्सन एन्ड जोन्सनसहित अस्ट्राजेनेका खोपलाई अनुमित दिएको छ।
साउदीले लामो समयदेखि विभिन्न देशहरुबाट यात्रा प्रतिबन्ध लगाएको थियो। त्यहाँको आन्तरिक मामिलासम्बन्धी मन्त्रालयले सोमबार सो निर्णय गरेको हो। यो जानकारी सोमबार साउदी प्रेस एजेन्सीले दिएको छ। साउदी प्रेसका अनुसार साउदीमा अगष्ट ९ अर्थात् साउन २५ गतेदेखि यात्रा प्रतिबन्ध फुकुवा गरिने बताएको छ।
साउदीमा पनि कोभिडको नयाँ भेरियन्ट देखिएको थियाे। नयाँ भेरियन्टबाट हजारौँ संक्रमित भएका थिए। पछिल्लो समय संक्रमितहरको संख्यामा उल्लेख्य कमी आएपछि साउदीले यस्तो निर्णय गरेको हो।
साउदीले गत मे १७ गतेदेखि यात्रामा साउदी प्रवेशमा प्रतिबन्ध लगाएको थियो। प्रतिबन्धले नेपालसहित कयाैँ देशका श्रमिकहरु त्यहाँ जानबाट वञ्चित भएका थिए।