पछिल्लो समयमा ब्राजिलमा कोभिड–१९ बाट मृत्यु हुनेकाे संख्या दिन प्रतिदिन बढ्दै गएको छ। ब्राजिलको स्वास्थ्य मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार यहाँ एकै दिनमा १ हजार २०५ जनाको यस संक्रमणबाट निधन भएको छ। योसँगै ब्राजिलमा अहिलेसम्ममा ज्यान जाने व्यक्तिको संख्या ५ लाख ३२ हजार भन्दा बढी पुगेको छ।
यसैगरी यहाँ गएको २४ घन्टामा ४८ हजार जना भन्दा बढी व्यक्ति यहाँ संक्रमित भेटिएका छन्। आइतबार सम्ममा यहाँका १ करोड ९० लाख ९८ हजार भन्दा बढी व्यक्ति संक्रमित हुन पुगेको पनि स्वास्थ्य क्षेत्रका अधिकारीहरूले जानकारी दिएका छन्। ब्राजिलको स्वास्थ्य मन्त्रालयले आइतबार दिएको जानकारीमा पछिल्लो समयमा मृत्यु हुने प्रतिशत पनि दिन प्रतिदिन बढ्दै गएको छ।
कोरोनाको नयाँ प्रजातिको भाइरसको पनि प्रकोप देखिएको ती अधिकारीले जनाएका छन्। ब्राजिलका स्वास्थ्य अधिकारीहरूले दिएको जानकारीअनुसार यहाँका प्रति एक लाख जनामा २५३ जनाको मृत्यु भएको बताइएको छ। यो मृत्युको प्रतिशत गएका केही महिनाअघि मात्र हेर्दा प्रति एक लाख जनसंख्या संक्रमणमा कम्तीमा पनि १३३ जनाको ज्यान जाने गरेको पनि बताइएको थियो।
ब्राजिलको साओ पाओलो शहर सुरुदेखि नै यो संक्रमणको एक किसीमले केन्द्रबिन्दुको रूपमा रहेको पनि पाइएको छ। यस शहरका स्वास्थ्य संस्थाहरू भरिएका छन् भने ती संस्थाका करिब ९१ प्रतिशत जति आकस्मिक कक्षहरू पनि भरिएका पाइएको छ। यहाँको सरकारले कोभिड १९ विरुद्धको खोप लगाउने कामलाई प्राथमिकता दिइएको छ। खोप लगाउने कामलाई राष्ट्रिय अभियानका रुपमा सञ्चालन गरिएको बताइएको छ।