अन्ततः १० दिनको बहसपश्चात प्रतिनिधिसभा विघटनसम्बन्धि मुद्दाउपरको बहस सकिएको छ। रिट निवेदक १४६ जना सांसद र विपक्षी राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीका तर्फबाट बहस र जवाफी बहस सोमबार दिउँसो सकिएको हो।
सोमबार रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता हरिहर दाहाल, बद्रीबहादुर कार्की र शम्भु थापाले जवाफी बहस गरेका थिए। अब संवैधानिक इजलासले एमिकस क्युरीको राय लिन बाँकी छ। एमिकस क्यरीले यो बहसउपर आफ्नो राय २ बजेपछि राख्नेछ।
एमिकस क्युरीमा नेपाल बार एशोसिएसनका तर्फबाट कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसी छानिएका छन्। एमिकस क्युरीको बहसका लागि २ घण्टा लाग्ने छ। प्रतिनिधिसभा विघटनसम्बन्धिको यो मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाई भइरहेको छ।