काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोर विजोर प्रणाली हट्ने भएको छ। बिहीबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीकाे बैठकले असार २२ गतेदेखि सबै निजी तथा सार्वजनिक सवारी साधन स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर सञ्चालन गर्न पाइने निष्कर्ष निकालेको हो।
अब देखि सफा टेम्पो र निलो माइक्रो पनि सञ्चालन गर्न पाइने भएको छ। यसअघि २५ सिट क्षमताभन्दा बढीका सवारी साधन मात्रै चलाउन दिइएको थियो। सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन। माइक्रोको तेस्रो सिटमा चार-चार जनाका दरले ८ जना र चालक छेउमा एक जना गरी ९ जना यात्रुभन्दा धेरै बोक्न पाइने छैन।
यात्रुलाई मास्क अनिवार्य गरिएको छ। चालक र सहचाकलले मास्कका साथै भाइजर र पञ्जा पनि लगाउनुपर्नेछ भने सार्वजनिक सवारी साधनको ढोकामा ढोकामा स्यानिटाइजर राख्नुपर्नेछ।