सञ्चारकर्मी रुपा सुनारले शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध सर्वोच्च अदालतमा रिट हालेकी छन्। आइतबार उनले शिक्षा मन्त्री विरुद्ध सर्वोच्च अदालतमा रिट दिएकी हुन्।
रुपाले शिक्षा मन्त्री श्रेष्ठ, सरकारी वकिल कार्यालय काठमाडौं, महानगरीय प्रहरी वृत्त सिंहदरबार र सरस्वती प्रधानलाई विपक्षी बनाएर दिएको रिट आजै दर्ता पनि भइसकेको छ। रुपाले रिटमा जातीय भेदभाव तथा छुवाछुत कसुरको कसुरदारलाई कानुनअनुसार कारबाहीको माग गर्दै संविधान र कानुनलले बर्जित जातीय भेदभाव तथा छुवाछुतजस्तो मुद्दाको अपराध अनुसन्धानलाई मन्त्री श्रेष्ठले नै प्रभावित पारेको दाबी गरिएको छ। रुपाले मन्त्री श्रेष्ठले आफ्नो पद र सरकारी स्रोतको दुरुपयोग गरी प्रहरी कार्यालयमै पुगेर अनुसन्धान प्रभावित पारेको भन्दै मन्त्री श्रेष्ठलाई पदबाट तत्काल हटाउन माग गरेकी छन्।
रुपालाई जातका आधारमा कोठा नदिएको आरोपमा बबरमहलकी घरधनी सरस्वती प्रधानलाई प्रहरीले तीन दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो। अनुसन्धान सकेर प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय बुझाएको थियो। घरबेटी प्रधान श्रीमान मुकुन्द प्रधानको रोहबरमा जमानतमा छुटेकी थिइन्। त्यहीबेला शिक्षा मन्त्री श्रेष्ठ उनलाई लिन सरकारी गाडीमा महानगरीय प्रहरी वृत्त पुगेका थिए। मन्त्री श्रेष्ठले प्रधानलाई प्रहरी वृत्तबाट ‘लिफ्ट’ दिएर घरसम्म पुर्याइदिएका थिए।