हेलम्बु गाउँपालिका–७ अन्तर्गत पर्ने चनौटे बजारवासीलाई साँझ पर्नेबित्तिकै डर लाग्न थाल्छ। असार २ गतेअघि साँझ पर्नेबित्तिकै झिलिमिली देखिने सो बजार मेलम्ची खोलाको बाढीको ताण्डवले अहिले उजाड र बगरमा परिणत भएसँगै बजारवासी चिन्तित छन्।
बजारवासीलाई तीन दिनदेखि निद्रा लागेको छैन। कुन बेला बाढी बजारमा पस्छ भन्ने चिन्ता उनीहरूलाई छ। मेलम्ची चनौटे बजार भएर बग्ने गर्दछ। चनौटे बजारमा व्यापार व्यवसाय गर्दै आएका ताराबहादुर पण्डित बजारमा बाढी आएदेखि आफूलाई निद्रा नलागेको बताउँछन्।
उनी भन्छन्, “साँझ परेपछि खोला उर्लिन थाल्छ। पानीको बहाव बढेसँगै ढुङ्गा ठोकिएको ठल्ठूला आवाज आउने गर्दछ। मन थाम्न गाह्रो हुन्छ।” बजारमा उनका २० वटा सटर छन्। सबै बालुवा र ढुङ्गाले पुरिएका छन्। सटरमा भएका सामानहरू अब काम नलाग्ने भएको उनको भनाइ छ।
बाजे–बराजुको पालादेखि नै मेलम्चीमा यस्तो बाढी नआएको उनले बताए। बाढीले बजार क्षेत्रका ५५ घरमध्ये २० घर बगाएको र करिब १० अर्ब रुपियाँभन्दा बढीको क्षति भएको उनको भनाइ छ। सोही बजारमा हेलम्बु मोटरसाइकल वर्कसप सञ्चालन गर्दै आएका सन्देश तामाङले ग्राहकको चारवटा मोटरसाइकलसहित पसलका सबै सामान बगाएको बताए। उनी भन्छन्, “असार २ गते साँझ ७ बजेतिर खोलामा ठूलो आवाजसँगै करिब १० मिटरजति उचाइको बाढी आयो। एकछिनमा नै पूरा बजार पानीले भरियो। मानिसमा रुवाबासी र भागाभाग भयो।” गोरखापत्र दैनिकबाट