जिल्लामा लगातार अविरल वर्षासँगै मनसुन सक्रिय भएपछि खोला तथा नदीमा पानीको बहाव बढ्दै गएकाले नदी छेउछाउमा बसोबास गर्ने स्थानीयवासीलाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बाजुराले आग्रह गरेको छ। लगातार वर्षा भइरहेकाले बाढीपहिरो आउने भएकाले नदी छेउछाउ नजान सार्वजनिक सूचनामार्फत आग्रह गरिएको हो।
मङ्गलबार प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीद्वारा हस्ताक्षरित सार्वजनिक सूचनामा अविरल वर्षाले अप्रिय घटना घट्नसक्ने भएकाले विपद्बाट बच्नका लागि समयमै सतर्कता अपनाउन अपिल गरिएको छ । पहिरोको जोखिममा रहेका घर तथा बस्तीमा बसोबास गर्ने नागरिकलाई वर्षा धेरै भई पहिरोको त्रास भएमा नगरपालिका वा गाउँपालिकाले तोकेको सुरक्षित स्थलमा वा छिमेकीको घरमा जान जोखिमबाट टाढा रहन आग्रह गरिएको प्रजिअ अधिकारीले जानकारी दिए।
बाढी, पहिरोलगायतका विपद्का घटना हुने आशङ्का लागेमा नजिकैको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयको हटलाइन ९८५८४९००५३ वा जिल्ला प्रशासन कार्यालय बाजुरामा रहेको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रको टेलिफोन नं ९८६४३१४०६६ र ०९७५४१३१४ मा सूचना दिन प्रजिअ अधिकारीले अपिल गर्नुभएको छ।
बेपत्ता महिलाको शव भेटियो
लगातार अविरल वर्षाका कारण खोलामा आएको बाढीले बगाएर बेपत्ता भएकी बूढीनन्दा नगरपालिका–३ लौठीरुखकी महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
नगरपालिकामा रहेको बड्डीगाड खोलाले बगाउँदा सोही नगरपालिका–३ की मोतीकला ल्वारको शव करिब २० किलोमिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी धनदेव साउदले राससलाई जानकारी दिए। बेपत्ता महिलाको स्थानीयवासी र प्रहरीले खोजी गर्दा बड्डीगाड खोलाको कालसिलमा फेला पारेको प्रहरी निरीक्षक साउदले बताए। महिलाको शव कोल्टी प्राथमिक स्वास्थ्यचौकीमा परीक्षण गरी आफन्तलाई बुझाइएको उनले बताए।
सोमबार त्रिवेणी नगरपालिका–५ किम्नीमा खोलाले बगाउँदा बेपत्ता भएका १३ वर्षीय बालक अझै फेला परेका छैनन्। गाउँ नजिकै रहेको किम्नीखोलाले बगाउँदा बेपत्ता भएका बालकको प्रहरी र स्थानीयवासीले खोजी गरे पनि फेला नपरेको प्रहरी निरीक्षक साउदले बताए। घटनास्थलमा प्रहरीको टोली र स्थानीयवासीले खोजी गरिरहेका छन् तर अहिलेसम्म पनि बालकको शव फेला परेको छैन। जिल्लामा बाढीले बगाउँदा दुई जनाको ज्यान गएको छ। वर्षाका कारण राजमार्ग सडक र ग्रामीण सडकसमेत अवरुद्ध भएका छन्।