पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएका ट्याङ्कर चालकहरुको आन्दोलन फिर्ता भएको छ। सरकारले कोरोनाविरुद्धको खोप दिन सहमती जनाएपछी उनीहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन्।
नेपाल आयल निगम र नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच भएको वार्ता सकरात्मक भएको संघका अध्इष इश्वर लामाले जानकारी दिए। ‘ट्यांकर चालकलाई बुधबारदेखि खोप उपलब्ध गराउने सहमति भएको छउनले भने, ‘हामीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छौं।’
अध्यक्ष लामाले बागमती प्रादेशिक डिपो कार्यालय थानकोटका ट्यांकर चालक र सहचालकलाई निगमले उपलब्ध गराएको परिचयपत्रको आधारमा खोप लगाउने सहमति भएको जानकारी दिए। सहमतिअनुसार थानकोट डिपो र त्यहाँबाट प्रदेशभरि तेल ढुवानी गर्ने ९ सय जना चालक तथा सहचालकले कोरोना खोप पाउनेछन्।
यस्तै अमलेखगञ्जका झण्डै १ हजार ४०० चालक–सहचालकलाई उतै खोप दिने सहमति भएको लामाले बताए। आन्दोलित ट्यांकर चालक तथा सहचालकलाई खोप लगाउने विषयमा सहमति भएको र केहीबेरमा विस्तृत विवरण सार्वजनिक हुने निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए। कोरोनाविरुद्धको खोप नपाएको भन्दै नेपाल पेट्रोलियम ट्यांकर चालक संघको आह्वानमा बागमती प्रदेशभर आइतबारदेखि पेट्रोलियम पदार्थको ढुवानी अवरुद्ध गरिएको थियो।