विद्यालयमा विद्यार्थीहरु टिकाउनका लागि सरकारले सबै सरकारी विद्यालयमा दिवा खाजाको सुविधा दिएको छ। सरकारी विद्यालयमा कम भर्ना हुने र बिचैबाट विद्यालय छाडेर जाने प्रवृति बढ्दै गएपछि विद्यार्थी टिकाइ राख्नका लागि सरकारले दिवा खाजा कार्यक्रम संचालन गरेको हो। सरकारले यो सुविधा प्राथमिक तहसम्मका विद्यार्थीहरुलाई दिएको छ।
तर सरकारले राम्रो उद्देश्यले ल्याएको यो कार्यक्रममा पनि खुलेआम भ्रष्टचार भइरहेको पाइएको छ,त्यो पनि सरकारी कर्मचारीबाटै। तर सम्बन्धीत निकाय मौन छ। अनुगमन तथा कारबाही गर्ने निकाय नै मौन बसेपछि यो झन शंकास्पद बनेको छ। यो घटना हो,बीरगञ्ज महानगरपालिकाको।
बीरगञ्ज महानगरपालिकामा अहिले धमाधम दिवा खाजाबापत दिने रकम निकासा भइरहेको छ। आर्थिक वर्ष सकिन लाग्दा बजेट सिध्याउने उद्देश्यले खाजा कार्यक्रम संचालन नगरि पैसा पनि निकासा गरेर कुम्लयाउने काम भएको छ। स्रोतका अनुसार बीरगन्ज महानगरपालिकाका कर्मचारीहरुले लेनदेनको आधारकमा कागजी प्रक्रिया पूरा गरेर संचलान नै नभएको कार्यक्रम अन्तर्गतको दिवा खाजाको रकम निकासा गरेका छन्।
के गरेको छ,महानगरपालिकाले ?
बीरगञ्ज महानगरपालिकाले अहिले आफ्नो नगरभित्र पर्ने सबै प्राथमिक तहका विद्यालयहरुमा दिवा खाजाबापत दिने रकम धमाधम निकासा गरिरहेको छ। महानगरको क्षेत्रमा रहेको ८९ वटा विद्यालयमा यो रकम पठाइएको छ। प्रति विद्यार्थी १५ रुपैयाँका दरले महानगरपालकिाले विद्यालयमा रहेको विद्यार्थी संख्याको आधारमा सम्बन्धीत विद्यालयमा रकम पठाएको छ।
फागनु र चैत महिनामा विद्यालय संचलान भएको रजिष्टरमा देखाउँदै महानगरपालिकाले दिवा खजाको रकम निकासा गरेको दिवा खाजाबापत रमक पाएका एक विद्यालयका प्रधानाध्यापकले जनाए। उनका अनुसार यो रकम कागजीरुपमा सबै प्रक्रिया पूरा गरेर विद्यालयमा पठाइएको छ। ‘तर वास्तविकरुपमा दिवा खाजा खुवाइएको छैन,’ उनले भने।
नेपाल शिक्षक संघ पर्साका अध्यक्ष प्रदीप कुमार जैसवाल पनि यो कुरासंग विमति नरहेको प्रतिक्रिया दिए। ‘खाजा खुवाउदा पहिले नै पैसा आउछ,त्यसपछि विद्यालयले खाजा खुवाउने गरेको छ। तर यो बीचमा महानगरबाट मौखिक ररुपमा खाजा खुवाउने प्रस्ताव आयो, जसमा शंका लाग्यो उनले भने। तैपनि केहीले खुवाए, कतिपयले किनकि सबैलाई डर थियो, पैसा आउँछ कि आउँदैन्।’ तर अहिले दुई महिनाको रकम भने भने सबै विद्यालयमा आएको छ। यो दुई महिनामा मात्रै महानगरबाट दिवा खाजाबापत १ करोड भन्दा बढी रकम निकासा भएको छ।
किन पठाइयो रकम ?
विद्यालयहरु संचालन रहँदा पनि त्यो वेला भने महानगरपालिकाले रकम पठाएको थिएन्। रकम नपठाएसम्म विद्यालयले दिवा खाजा खुवाउँदैन् पनि। महानगरले यो वर्ष दिवा खाजाबापतको रमक नपठाउने तयारीमा पनि थियो। तर आर्थिक वर्ष सकिन लाग्दा शैक्षिक प्रशासन महाशाखा प्रमुख अरबिन्दलाल कार्णको समन्वयमा यो रकम एकाएक निकासा भएको छ। स्रोतका अनुसार शैक्षिक महाशाखा प्रमुख कर्णले कार्यकारी प्रमुख प्रदीप निरौलासंग सबै तालमेल मिलाएर रमक निकासा गराएका हुन्।
रकम पाएका एक विद्यालयका प्रधानाध्यापक भन्छन,‘ यो रकम आउने आसा थिएन,तर कर्ण सरले यो सबै मिलाउनु भयो । अनि रकम पनि आयो। निकासा भएको रकमको ६० प्रतिशत आफूहरुले लिने र ४० प्रतिशतमात्रै विद्यालयलाई दिने भन्नु भयो। यही सहमतिको आधारमा रकम आयो।’
तर महानगरले यो कुरामा वास्तविकता नभएको प्रतिक्रिया दिएको छ। महानगरपालिकाका लेखा शाखामा कार्यरत राजन दासले दिवा खाजा खुवाएकै विद्यालयहरुमा रकम गएको प्रतिक्रिया दिएका छन्। उनका अनुसार फागुन र चैतमा खाजा खुवाएका विद्यालयहरुमा मात्रै खाजा बापतको रकम गएको छ।
मेयर भन्छन्– ढेड महिना भन्दा बढीदेखि विद्यालय बन्द छ त
बीरगन्ज महानगर प्रमुख विजय सरावगीले यो बारेमा आफूलाई थाहै नभएको जानकारी दिए। 'दिवा खाजाको रकम त अहिले नजानु पर्ने हो, किनकि डेढ महिना भन्दा बढीदेखि नै विद्यलायहरु बन्द नै छन,' उनले भने, 'कसरी गयो,म छानविन गर्छु ।’
यता बीरगन्ज महानगरपालिकाका प्रमुख कार्यकारिणी अधिकृत प्रदीप निरौलाले त्यस्तो चलखेल नभएको जानकारी दिए। तैपनि सम्बन्धीत शाखा प्रमुखसंग सोधखोज गरेर छानविन गर्ने उनको भनाई छ।