नागरिक उड्डयन, पर्यटन तथा संस्कृती मन्त्री उमाशंकर अरगरियाले पर्यटन क्षेत्रमा आमुल परिवर्तनको आवश्यकता रहेको बताएका छन्। शनिबार राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय कार्यालयमा आयोजित सम्मान कार्यक्रममा उनले पर्यटन व्यवसायीहरुको सहजताका लागि छिट्टै पहलकदमी लिइने बताए। ‘महामारीका कारण पर्यटन व्यवसायीहरु समस्यामा परेका छन्, मन्त्री अरगरियाले भने, ‘विज्ञहरुसँग छलफल गरेर अघि बढ्ने तयारी भइरहेको छ।’
मन्त्री अरगरियाले नेपाल बहुसांस्कृतिक राष्ट्र भएकाले यहाँका धर्म, संस्कृती र सांस्कृतिक धरोहरहरुको जगेर्ना गर्न कुनै कसर बाँकी नराखिने प्रतिवद्दता जााहेर गरे। उनले पर्यटनका नयाँ–नयाँ सम्भावनाहरुको पहिचान गरी पर्यटकहरुलाई आकर्षित गर्ने योजनाहरु बनाएर कार्यान्वयनमा लगिने बताए। उनले यसमा युवा संघको सहयोग आवश्यक रहेको पनि बताए।
मन्त्री अरगरियाले प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशका मुद्दाहरु सम्बोधन गरेको हुँदा आफुँहरु सरकारमा सामेल भएको बताउँदै हाल भइरहेका विरोधहरुको कुनै तुक नभएको बताए। ‘सरकारमा सामेल भएर जति समय जिम्मेवारी वहन गर्ने मौका मिलेको छ, त्यो समयभित्र आमुल परिवर्तन गर्ने प्रयासमा छौ।’
नवनियुक्त मन्त्री अरगरियालाई सम्मान गर्दै राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले पर्यटन क्षेत्रलाई अघि बढाउने सवालमा मन्त्रालयलाई हरसम्भव सहयोग गर्न आफुँहरु तयार रहेको बताए। ‘जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा सुचिकृत गराउन पहल गर्ने निर्णय गरेर मन्त्रीज्युले निकै सकरात्मक शुरुआत गर्नुभएको छ,’ अध्यक्ष पौडेलले भने, ‘पर्यटन मन्त्रालयले ल्याएका योजनाहरुलाई सफल बनाउन युवा संघले भुमिका निर्वाह गर्नेछ।’
महामारीका कारण सबैभन्दा बढी समस्यामा पर्यटन क्षेत्र नै परेको हुँदा पर्यटन क्षेत्रको उत्थानका लागि योजना ल्याउन उनले आग्रह गरे। ‘मुलुकको समृद्दिमा पर्यटन क्षेत्रको महत्व अथाह छ,’ अध्यक्ष पौडेलले भने, ‘मन्त्री ज्युको कार्यकालमा यो क्षेत्रले फड्को मार्नेछ भन्ने विश्वास लिएका छौ।’