वीरगञ्ज – पर्सा जिल्लाको ठोरी गाउँपालिकाका हरेराम खड्काले सगरमाथाको सफल आरोहण गरेका छन्। उनले मगंलबार नै सफलतापुर्वक आरोहण सम्पन्न गरेको जानकारी दिएका छन्। करिव ३० जनाको समुहसँगै आरोहण गरेका उनी विगत लामो समयदेखी ट्रेकिङ गाइडको रुपमा काम गर्दै आएका थिए।
यस वर्ष प्रतिकूल मौसमका कारण धेरै विदेशी पर्यटक चुचुरो नपुगेर आधार शिविरबाट फर्किएका खड्काले जानकारी दिए। यद्यपि दुई दिन मौसम अनुकूल हुँदा आफूहरू चुचुरोमा पुग्न सफल भएको उनले बताए। खड्काले वीरगञ्ज महानगरपालिका र ठोरी गाउँपालिकाको नाम अङ्कित ब्यानर चुचुरोमा फहराएका थिए ।
सगरमाथा आरोहणपश्चात् चुचुरोबाट नजीकै रहेको अन्तिम आधार शिविर आइपुगेका खड्काले सगरमाथा आरोहण गरेको वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगी र ठोरी गापाका अध्यक्ष पद्मलाल श्रेष्ठलाई फोनमार्फत जानकारी गराएका थिए। उनी प्रदेश नम्बर २ कै पहिलो सगरमाथी आरोही हुन।
खड्कालाई वीरगञ्ज महानगरले रु २ लाख ५० हजार र ठोरीले रु २ लाख नगद सहयोग गरेको थियो। गत चैत २९ गतेदेखि सगरमाथा आरोहण आरम्भ गरेका खड्का ५० दिनभन्दा बढी समय लगाएर सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल भएका हुन्।
करीब १५ बर्षदेखी हिमाली क्षेत्रमा रहेर काम गरेका उनले ६ हजार, देखि ७ हजार ५ सय मीटर सम्मका हिमालहरु आरोहण गरिसकेका थिए ।
