‘धर्तीमा कदम टेकायौ आमा। बाटो देखायौ आमा। आज धर्तीमा एकलो बनाई गयौ आमा।’ राम थापाले बुधबार बिहानै यो भावुक स्ट्याटस आफ्नो फेसबुकमा हालेका थिए। कोरोनाको कहरले विक्षिप्त बनाएको परिवार हो, थापा परिवार। यो परिवारले परिवारका तीन सदस्य गुमायो। पहिला आमा, त्यसपछी ठुलोबुवा अनि दाइ। आमाकाे बैसाख १६, ठुलाेबुवाकाे जेठ १ र दाइकाे बैसाख ७ गते मृत्यु भयाे।
तीनवटा अपुरणीय क्षती व्यहोरोका राम भन्छन, ‘सपना हो की के हो? मनलाई बुझाउन गाह्रो भयो।’ पहिला आमा सन्जु थापा, त्यसको केहि दिनभित्र अभिभावक सरहका ठुलाेबुवा गाेपाल बहादुर थापा अनि दाई सरोज थापाकाे निधनले दिएको पिडा राम शव्दमा बयान गर्न सक्दैनन्।
कोभिडको दोश्रो लहर अप्रत्याशित रुपमा थापाको परिवारमा छिर्यो। सबै सदस्यमा संक्रमण देखियो। उपचारको लागि पाटन अस्पताल भर्ना गरियो।
सरोजले बैसाख १७ गते अस्पतालबाट लेखेका थिए, ‘हे भगवान हामीलाई कति पीडा दिएको? यो कोरानाको सतर्कताको लागि हामिले जति केयर गरेको को थियौ र? आज परिवारको सबैजना कोरोना संक्रमित भयौँ। हामी तिनै छोराहरु आमासँग आइसियु भर्ना हुनुपरेको पनि बैशाख १ गते देखि। आजबाट आमालाइ गाह्रो भएर भेन्टिलेटरमा राख्नु परेको छ। आमा हजुर नआत्तिनुहोला। सबै ठिक हुन्छ। हामी सँगै घर फर्कनुपर्छ। मेरो पनि अक्सिजन लेभल ८५–८६ छ।’
आमाको स्वास्थ्यलाभको कामना गर्ने सरोजको नियतीमा अर्कै लेखिएको रहेछ। जेठ ७ गते सरोजले संसारबाट बिदा लिए। सरोज कोरोनाबाट मुक्त भइसकेको रिपोर्ट नेगेटिभ त आएको थियो तर कोरोनाले फोक्सो निकै कमजोर बनाइसकेकाले उनी रहेनन्।
भोलिपल्टै रामले फेसबुकमा लेखे, ‘दाई हजुरले लेख्नुभएको थियो ‘आमा हजुर नआतिनुहोला। सबै ठिक हुन्छ। हामी सँगै घर फर्कनुर्छ’ भनेर दाई आफुले भनेको कुरा पुरा गर्नुभयो। त्यो पाटन हस्पिटलबाट फर्किनु त भयो आमासंगै यो संसारबाट जानको लागि। सधै भरी आफ्नो बाचा पुरा गर्नुभयो। धेरै धेरै धन्यवाद दाई हजुरलाई।’
आमा सन्जुले सराेजभन्दा पहिले नै संसारबाट बिदा लिएकी थिइन्। राम भन्छन, 'आमाकाे मृत्युबारे दाइलाइ खबर दिएका थिएनाैँ।'
मकवानपुरका थापा परिवार काठमाडौंका राम्रा शैक्षिक परामर्श व्यवसायीको रुपमा चिनिन्छ। सरोज बागबजारमा निमास एजुकेशनल कन्सलेन्सी चलाउँथे भने ठुलाेबुवा गोपाल ओएसिस अब्रोड स्टडी सर्भिसेज एण्ड कन्सलटेन्सीका दरीलाे खम्बा थिए। ओएसिस अब्रोड स्टडी सर्भिसेज रामकाे नाममा दर्ता छ।