कोरोना महामारीको दोश्रो लहरबाट प्रभावित हुनेहरुको संख्या बढेसँगै सरकारले निषेधाज्ञामा थप कडाई गरेको छ। जेठ १४ गतेबाट काठमाडौं उपत्यकामा किराना पसल र डिपार्टमेन्ट स्टोर समेत बन्द हुने भएका छन। आज बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय लिएको हो।
मंगलबार काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला सहभागी बैठकले निजी र सार्वजनिक निर्माणका कार्य पनि बन्द गर्ने निर्णय गरेको छ।
सागसब्जी, माछामासु, दूधलगायत बेच्नका लागि भने बिहान ९ बजेसम्मको समय छुट्याइएको छ। यसरी किराना पसल तथा डिपार्टमेन्टल स्टोरहरू पनि खोल्न नपाइने भनेपछि अति आवश्यक खाद्यान्न किन्नलाई समस्या हुने भएको भन्दै सिडिओहरूले आज र भोलिमा एक सातालाई पुग्ने खाद्य सामाग्री किनेर राख्न अनुरोध गरेको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए।
१२ दिन अगाडि थपेको निषेधाज्ञा १३ गते बिहीबार राति १२ बजे सकिँदैछ। शुक्रबार १ बजेदेखि थप एक साता निषेधाज्ञा थपिएको हो। त्यस्तै, बैंकका कर्मचारीहरूको पनि भीड बढेको भन्दै प्रशासनले जिल्लामा शाखा बैंक एउटा र वाणिज्य बैंकको हकमा दुई वटा खोल्न अनुमति दिएको छ।
पत्रकारको हकमा पनि सूचना विभागको कार्ड अनिवार्य गरिएको छ। सूचना विभागको कार्ड नहुनेका लागि भने मिडिया हाउसको सिफारिसमा प्रशासनको अनुमति चाहिने छ। निषेधाज्ञाको उल्लंघन गर्नेहरूका लागि जरीवाना तिराउनेदेखि कैद सजायसम्म गर्ने प्रशासनले चेतावनी दिएको छ।
केही दिनअघि जारी भएको अध्यादेशमा निषेधाज्ञा कार्यान्वयनमा बाधा पुर्याए १ वर्ष र उल्लंघन गरे ६ महिना कैद हुन सक्ने र आदेश नमान्नेलाई सिडिओले एक लाख रुपैयाँ र संस्था पाँच लाखसम्म जरिवाना गर्न सक्ने व्यवस्था गरिएको छ।