काठमाडौं उपत्यकामा जारी निशेधाज्ञा अझै जारी रहने भएको छ। बढ्दो कोरोना संक्रमण दरलाई मध्यनजर गर्दै अझै कडाईका साथ निशेधाज्ञा लागु गर्दै एक साता थप्ने तयारी जिल्ला प्रशासन कार्यालयले गरिरहेको छ। ‘निषेधाज्ञा जारी राख्नुको विकल्प छैन,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने, ‘अझ कडा रुपमा पालना गराउने तयारी भइरहेको छ।’
प्रजिअ पराजुलीका अनुसार विशेषगरी तरकारी पसलहरूमा बिहानको समय बढी भिडभाड हुन थालेकाले त्यसलाई कसरी व्यवस्थित गर्ने विषयमा छलफल भएको छ। उपत्यकामा जारी निषेधाज्ञाको समय जेठ १३ गतेसम्म छ। त्यसअगावै प्रशासनले थप एक साताको निषेधाज्ञा आदेश जारी गर्दैछ।
यसैगरी, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, संवैधानिक निकायहरूमा पनि हालको उपस्थितिबारे छलफल हुने भएको छ। गृह मन्त्रालयमा छलफल हुने र त्यसबाट ती निकायमा सीमित जनशक्ति मात्र उपस्थित गराउनेबारे निर्णय हुने पराजुलीले बताए।