लमजुङ केन्द्रबिन्दु भएर बुधबार बिहान गएको भूकम्पमा परी ६ जना घाइते भएका छन्। ३ जना घरको पर्खाल खसेर र ३ जना भागदौडका क्रममा घाइते भएका हुन्।
घाइतेहरुको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। भूकम्पले २७ घरमा क्षति पु¥याएको छ।
बिहान ५ बजेर ४२ मिनेटमा मस्र्याङ्दी गाउँपालिका–८ भुलभुलेलाई केन्द्रविन्दु बनाएर गएको ५ दशमलव ८ म्याग्नेच्युटको भूकम्पका कारण स्थानीयहरुको भागभाग भएको थियो।
त्यसपछि पनि पराकम्प रोकिएको छैन। निरन्तर पराकम्प गइरहेका कारण त्यहाँका मानिस अहिले पनि खुला ठाउँमा बसिरहेका छन्। त्यस्तै बिहान ८ बजेर १६ मिनेटमा ४ म्याग्निच्युड र ८ बजेर २६ मिनेटमा ५ दशमलव ३ म्याग्निच्युडको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।
केन्द्रका अनुसार बिहानको भूकम्पपछि सोही ठाउँमा २० भन्दा बढी परकम्प गएका छन्। केन्द्रले बिहानको भूकम्प पनि २०७२ वैशाखको गोरखा भूकम्पकै परकम्प रहेको जानकारी दिएको छ।