बारामा एकै परिवारका दुई दाजु–भाईको घाँटी रेटिएको अवस्थामा शव फेला परेको हो। बाराको रंगपुरमा रहेको मदर्शा सल्फिया कन्जुल उलुममा ९ वर्षीय उशमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको शव बिहान भेटिएको हो।
दुवैजना सहोदर दाजु भाई हुन् । कलैया उपमहानगरपालिका वडा नं. ७ निवासी अब्दुल रसारका दुई छोरा हिजो बेलुकादेखि बेपत्ता थिए। रसार बैदेशिक रोजगारीका क्रममा देश बाहिर रहेका छन्।
घनटनास्थल शिल गरी प्रहरीले अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले बताएका छन्। ‘सोमबार बेलुका ७ बजे दुवैजना सँगै घरबाट निस्किएका रहेछन, बिहान घाँटी रेटिएको अवस्थामा शव भेटिएको छ।’ उनले भने ‘घटनास्थललाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेका छौं।’
प्रहरीले अनुसन्धानका लागि तालिम प्राप्त कुकुर सहयोग लिदैछ। प्रदेश २ प्रहरी कार्यालय डग शाखा बर्दिबासबाट तालिम प्राप्त कुकर मगाइएको डिएसपी मिश्रले बताए। ‘वरपर हेर्दा हतियार पनि फेला परेको छैन, उनीहरु कहाँ गएका थिए, कसलाई भेटे लगायतका बारेमा सोधपुछसँगै तालिम प्राप्त कुकुरको पर्खाइमा छौं।’ उनले भने ‘कसले किन हत्या गरेको हो ? को को संलग्न छन? पत्ता लगाउने प्रयास गरिरहेका छौं।’