रिठ्ठा ( Sapindus mukurossi ) नेपालमा पाइने एक प्रकारको पतझड रुख हो। यसलाई अङ्ग्रेजीमा Soapnut tree को नामले चिनिन्छ। यो Sapindaceae परिवार अन्तर्गत पर्दछ। नेपालको औधोगिक र आयुर्वेदिक क्षेत्रमा रिठ्ठाको महत्त्वपूर्ण भुमिका रहेको छ।
त्यसैले रिठ्ठालाई बहुउपयोगी बनस्पति पनि भनिन्छ। समुन्द्री सतहबाट ६०० देखि १४०० मिटरको उचाईमा पुर्व देखि पश्चिम नेपालमा यसको उत्पादन गर्न सकिन्छ। अझै भन्ने हो भने सुदुर पस्चिमको पहारिलो ठाउँमा यो बढी पाइएको छ। यो १० देखि १८ मिटर सम्म अग्लो हुने रुख हो। यसको बोक्रा गाढा हरियो वा खैरो रङ्गको हुन्छ। यो बनस्पति प्रत्येक वर्ष वैशाख देखि असार सम्म फुल्छ र फुलेर पहेँलो भइ पाकेको दाना मंसिर पुस तिर संकलन गरिन्छ। यसको पात भलाकार र नरम हुन्छ।
फुल झुप्पामा फुल्ने ,सानो पहेँलो अथवा प्याजी रङको लहरेदार हुन्छ र हाङ्गाको टुप्पोमा फुलेको हुन्छ। यसको फल करिब २ से.मि गोलाइको ,बाहिरी भाग नरम हल्का अथवा गाढा खैरो रङ्गको र चाउरी परेको हुन्छ। फल धेरै पुरानो भएमा कालो रङ्गको हुन्छ। फल भित्र गोलो ,कालो अनि कडा बीउ हुन्छ र यसको दाना लाई ओखल वा ढुङ्गामा पिसेर पानीमा ढद्याइ निस्कने फिज प्रयोग गरि लुगा धुने र नुहाउने काम गरिदै आएको पाइन्छ।
प्रयोग
नेपालको मध्य पहाडी क्षेत्रमा ४० भन्दा बढी जिल्लामा पाइने रिठ्ठाको मुख्य उपयोगी अंग फल हो। परम्परा देखि माछा मार्न विषको रुपमा प्रयोग गरिँदै आएको यो बनस्पतिको फल पछिल्ला दिनहरूमा स्याम्पु ,साबुन ,किटनाशक औषधि ,डिटरजेन्ट पाउडर आदि बनाउन प्रयोग गरिन्छ। यसको फलमा स्यापोनिन भन्ने तत्त्व हुन्छ जुन औषधिय दृस्ठिकोणले महत्त्वपूर्ण मानिन्छ।
यसको फल दिशा खुलाउन ,बान्ता गराउन ,खकार निकाल्न, छारे रोग , र्याल चुहिने रोग,पेटका किरा मार्न , खाना अपच भएमा , बिच्छिले टोकेमा, दम,हैजा,खोकी आदि रोगको औसधिको रुपमा प्रयोग गर्न सकिन्छ। हाल स्वदेशी बजारमा पनि रिठ्ठाको प्रयोग क्रमश बढ्दै आएको छ।
सुनचाँदी व्यवसायिहरुले धातुलाइ चम्काउन रिठ्ठाको पाउडर प्रयोग गर्ने गर्दछन। मेहन्दिको लेप , साबुन,स्याम्पु आदि बनाउन अत्यन्तै प्रयोग हुने गर्दछ।
उत्पादन
एकपटक बिरुवा रोपेर हुर्काएपछी २०/२५ वर्षसम्म निरन्तर फलिरहने हुँदा रिठ्ठा खेती गर्न कुनै समस्या नपर्ने र जति ठुलो रुख हुन्छ त्यति नै धेरै फल्ने र एउटै बोट्बाट ३ कुइन्ट्ल रिठ्ठा उत्पादन भएको पनि देखिन्छ। यसको भाउ बजारमा प्रति केजि ३५ देखि ५० सम्म ( ठाउँ अनुसार फरक ) हुने गर्दछ।
पछिल्ला दिनहरुमा हाम्रो नेपालमा उत्पादन हुने रिठ्ठाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा यिनै असंख्य उपयोगिताको कारण निकै लोकप्रिय हुदै गएको छ। बिगत चार / पाँच वर्ष अगाडि सम्म घरायसी प्रयोगमा मात्र सिमित रहेको रिठ्ठा आजभोलि छिमेकी राष्ट्र भारत,चीन,हङ्गेरी ,रसीया ,फ्रान्स ,जर्मनी आदि रास्ट्रहरु सम्म निर्यात हुन थालेको छ।
हालसम्म यसको दाना भित्रको बीउ त्यतिकै खेर जाने गरेको छ र त्यसलाई पनि पेलेर निकाल्ने प्रविधि हालै चिनले विकास गरेको जडिबुटी व्यवसायीहरुको तर्क पनि छ । र नेपाल सरकारले रिठ्ठा लाई खेती तथा संरक्षणको लागि प्राथमिकता क्रममा राखेको छ। तसर्थ अत्यधिक विषादीको प्रयोग नगरौं , जैविक प्राकृतिक र साइड इफेक्ट युक्त जडिबुटीको प्रयोग गरौं र निरोगी बनौं।
(लेखक जाेशी रामपुर क्याम्पस चितवनमा Bsc.Agriculture अध्ययन गरिरहेका छन्)