निजगढ – निजगढ नगरमा कोरोनाभाइरसको दोस्रो चरणको प्रकोपका कारण संक्रमित बढेसंगै त्यसको नियन्त्रणका लागि नगरपालीका र स्थानीय प्रहरीले सक्रियता बढाएका छन्। देशमा महामारीको रुप लिएको कोरोना भाइरसको प्रकोपले निजगढका ६ जनाले ज्यान गुमाई सकेका छन् भने हालसम्म ५७ जना संक्रमित छन्।
कोरोना भाइरसको महामारीबाट नगरबासीलाई जोगाउनलाई नगरपालीकाले कुनै कसर बाँकी राखेको छैन। नगर प्रमुख शुरेशकुमार खनालले प्रयोग गर्दै आएका गाडी एम्बुलेन्स सेवाका लागि दिएका छन्। उनी उनी आँफु भने स्कुटर चढेर नगरको सेवामा जुटीरहेका छन्। आइसोलेसनमा अक्सिजन कमि नहोस भन्नका लागि नगर प्रमुख खनाल र प्रमुख प्रशासकिय अधिकृत सुमनकुमार कार्की लगायत स्वास्थ्य टोली फिल्डमा खटिएका छन्।
निजगढ प्राथमिक स्वास्थ्य केन्द्रमा नगरले १५ शय्याको सुविधा सम्पन्न आइसोलेसन कक्ष स्थापना गरीसकेको छ । उक्त कक्षमा ३ जनाले उपचार गराई रहेका छन् भने १५ जना निको भएर घर फर्किएको नगरपालीका स्वास्थ्य शाखाका मणिश्वर घिमिरेले जानकारी दिए।
नगरमा स्वाव परिक्षण
आज निजगढ नगरपालीकाले प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सकको परामर्शमा कोभिड —१९ संग मिल्दोजुल्दो लक्षण भएका १८ महिला र १८ पुरुष गरी ३६ जनाको स्वाव पिसीआर परिक्षणका लागि कलैया अस्पताल पठाएको छ।
प्रहरीको सक्रियता
यता कोरोना भाईरस नियन्त्रणको पहिलो प्रयासमा इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीको नेतृत्वमा गत मंगलवार नगर स्वास्थ्य टोली, नगर उद्योग वाणिज्य संघ, सामाजिक संघसंस्था लगायतको सहभागितामा नगरका विभिन्न वडामा जनचेतना कार्यक्रम गर्दै बजार समेत अनुगमन गरेको थियो।
विभिन्न अस्पतालमा अक्सिजनको हाहाकार भईरहेको अवस्थालाई मध्येनजर गरी निजगढमा प्रहरीले इलाका क्षेत्रका विभिन्न ठाउँबाट अक्सिजन सिलीन्डर नियन्त्रणमा लिएर नगरपालीका मार्फत अस्पताललाई वितरण गरेको छ। यो कार्य जारी रहेको प्रनी चौधरीले बताए।
नगरले गत शुक्रवारबाट एक हप्ताका लागि औषधि, दुध, केरा ढुवानी र अत्यावश्यक काम बाहेक पूर्णरुपमा निषेधाज्ञा जारी गरेको छ। इलाका प्रहरी कार्यालय, शसस्त्र प्रहरी निजगढ, जिल्ला ट्राफिक कार्यालयले संयुक्त रुपमा गस्ति गरीरहेका छन्।