ओमनको मस्कटबाट ५ सय ६० वटा अक्सिजन सिलिण्डर लिएर नेपाल वायू सेवा निगमको चार्टर विमान नेपाल आईपुगेको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए)द्वारा सहयोगमा उपलव्ध अक्सिजन सिलिन्डर काठमाडौँ ल्याइएको हो।
ओमनमा रहेका नेपालीहरुबाट चन्दा संकलन गरेर करिव ७५ लाख बराबरको अक्सिजन सिलिण्डर जुटाइएको थियो। ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियान अन्तरगत ती अक्सिजन सिलिन्डर नेपाल पठाइएको गैरआवासीय नेपाली संघले जानकारी दिएको छ।
संघका अनुसार गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् ओमानको पहल, ओमानस्थित नेपाली राजदूतावास, विभिन्न नेपाली संघसंस्था एवं आम गैरआवासीय नेपालीहरुको संयुक्त सहयोग र सहकार्यमा नेपाल ल्याइएको अक्सिजन सिलिन्डर ७५ लाख रुपैयाँ बराबरको रहेको छ ।
ओमानदेखि काठमाडौँसम्मको अक्सिजन सिलिन्डर ढुवानीको खर्च भने नेपाल सरकारले व्यहोरेको छ। नेपाल ल्याइएका ती अक्सिजन सिलिन्डर तत्काल कोरोना संक्रमितहरु समक्ष पुगोस् भनेर आइतबार नेपाल सरकारलाई हस्तान्तरण गरिने कार्यक्रम तय भएको छ।
यसैविच थप अक्सिजन सिलिण्डर लिनका लागि निगमको जहाज चिनको बेइजिङ जादैँछ। ओमनमा अड्कीएका एक नेपालीको उद्वार गर्नुपर्ने भएकाले बेइजिङ जान केहि ढिलो भएको निगमका महानिर्देशक डिमप्रकाश पौडेलले जानकारी दिएका छन्।
उता दुबईमा रहेका नेपालीहरुले पनि अक्सिजन सिलिण्डरका लागि सहयोग जुटाइरहेका छन्। त्यहाँ रहेका कामदार तथा अन्य नेपालीहरुले आफ्नो क्षमताअनुसारको रकम सहयोग गरेर नेपालमा अक्सिजन पठाउने तयारी गरीरहेका छन्।