नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न एक कन्सलटेन्सी सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं बागबजारस्थित ग्लोबल एजुकेसन काउन्सिलिङ कन्सल्टेन्सीका सञ्चालक सागिर अहमद खानलाई केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी)को टोलीलले पक्राउ गरेको हो।
बंगलादेशमा एमबिबिएस अध्ययनका लागि एसएलसीको नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरिएको हो।
‘अनुसन्धानमा उनले बंगलादेशमा एमबिबिएस पढेका एक विद्यार्थीको एलएलसीको प्रमाणपत्र किर्ते गरेको पुष्टि भएको छ,’ सिआइबीकी प्रवक्ता एसपी गंगा पन्तले भनिन्। यसअघि नक्कली प्रमाणपत्र बनाउने कार्यमा संलग्न बागबजारस्थित ज्योति दीप कन्सल्टेन्सीका सञ्चालक अरुण चौधरी पनि पक्राउ परेका थिए।
नक्कली शैक्षिक प्रमाणपत्र बनाएर एमबिबिएस अध्ययन गरी विभिन्न अस्पतालमा कार्यरत सातजना चिकित्सक सिआइबी अपरशेनमा पक्राउ परेर हिरासतमा छन्। सप्तरी विष्णुपुरका २८ वर्षीय मोहमद सिद्दिकी, धनुषा जनकपुरका २९ वर्षीय सुभाषप्रसाद साह, धनुषा सबैलाका २८ वर्षीय मोहम्मद शाहिद राजा हाल सिआइबी हिरासतमा छन्।
मनाङका ३१ वर्षीय दीपेन्द्र गौतम, सप्तरी सकरपुराका ३१ वर्षीय अखिलेशकुमार देव, महोत्तरी मनराकी २७ वर्षीया पल्लवी सिंह र ललितपुर महानगरपालिका– २ सानेपा बस्ने २९ वर्षीय फराज हुसेन खाँलाई हिरासतमा राखेर सिआइबीले लिखतसम्बन्धी कसुर मुद्दामा कारबाही अघि बढाएको छ।
सिआईबीले थप कन्सलटेन्सीहरुमाथी पनि अनुसन्धान भइरहेको बताएको छ।