संस्कार समाज नेपालले आफ्नो तेश्रो वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न गरेको छ। काठमाडौंको सुन्धारास्थित आफ्नो कार्यालयमा विशेष कार्यक्रम गर्दै संस्थाले साधारण सभा सम्पन्न गरेको हो। समाजसेवी मञ्जु गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न वक्ताहरुले संस्थाको काम र दायित्वबारे जानकारी गराएकी थिइन्।
कार्यक्रममा बोल्दै संस्थाकी संस्थापक तथा वर्तमान अध्यक्ष पशुपति गुरुङले संस्कार समाज नेपालको आवश्यकता, यसले गर्दै आएका कामहरु र यसको दायित्वबारे प्रष्ट पारेकी थिइन्। देश विकासमा संस्थाले दिन सक्ने सहयोगको बारेमा आफूहरु जानकार रहेको बताउँदै उनले त्यसैअनुसारको नीति अपनायर अघि बढ्ने बताइन्।
उनले कोरोना भाइरसका कारण स्थगित गरिएको नियमित श्रृङ्खलाहरु र देशव्यापी महाअभियानहरु आगामि वैशाख ४ गतेदेखि पुनः सुचारु गर्ने संस्थाको निर्णयबारे जानकारी दिइन्।
त्यस्तै, कार्यक्रमकी प्रमुख अतिथि मञ्जु गुरुङले संस्कार समाजले उदाहरणीय काम गर्दै आएको बताइन्। संस्कार समाज नेपालले समाज रुपान्तरणका लागि गर्दै आएको कार्यक्रमहरुमा आफ्नो संस्थाको पनि सहभागिता गराउने प्रतिबद्धता उनले व्यक्त गरिन्।
त्यस्तै, कार्यक्रममा चक्रपथ सरसफाइ अभियानका प्रमुख अभियानता तथा ग्रीन सिटी हस्पिटलका फाइनान्स डाइरेक्टर रेणुका गुरुङले पनि संस्कार समाज नेपालले गौरवशाली काम गरिरहेको बताएकी छिन्। कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै अभियनता गुरुङले आफूलाई संस्कार समाज नेपालसँग जोडिन चाहना भएको बताउँदै आजीवन सदस्य बन्ने घोषणा पनि गरिन्।
वार्षिकोत्सव कार्यक्रममा संस्थाका संरक्षक सदस्य बुद्धिप्रसाद गुरुङ, सामाजिक अर्थशास्त्री उमेश कुमार श्रेष्ठ, संस्थाका आजीवन सदस्य राज बं. गुरुङ, रेडियो नेपालका पत्रकार बलराम कोइराला, पत्रकार अनिल घिमिरे, रमेश थापा, कलाकार प्रकाश रसाईली भावुकलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा संस्थालाई विशेष सहयोग गर्ने हङकङ निवासी रेशम गुरुङलाई सम्मान पनि गरिएको थियो। कार्यक्रमलाई संस्थाका सचिव प्रकाश समीरले सञ्चालन गरेका थिए।