काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले नगरका वडा कार्यालयको भवन निर्माणको कामलाई तीव्रता दिएको छ। नगरपालिकाका सबै वडामा पक्की भवन निर्माण गर्ने अभियानअनुसार अहिले सबै वडामा भवन निर्माणको काम तीव्र गतिमा अगाडि बढिरहेको हो।
नगर प्रमुख टंकप्रसाद शर्मा तिमल्सिनाले वडा नं ७ को कार्यालय भवनको शिलान्यास गरे पछि अब नगरको सबै वडाको कार्यालय भवन निर्माणको कामले तीव्रता पाएको छ। यसअघि उनले वडा नं ८ र ९ को कार्यालय भवन शिलान्यास गरेका थिए।
अहिले नगरपालिकाका वडा नं ७, ८, ९ र १० को कार्यालय भवन निर्माणको काम भइरहेको छ। त्यस्तै वडा नं २ को भवन निर्माणका लागि पनि प्रक्रिया अगाडि बढाइसकेको नगरपालिकाले जनाएको छ। नगर प्रमुख तिमल्सिनाका अनुसार वडा नं २ को कार्यालय निर्माण यसै साता शुरु हुनेछ।
वडा नं २ को भवन निर्माणका लागि सिद्धिविनायक निर्माण सेवासँग ४० लाख ८७ हजार ६८५ रुपैयाँमा ठेक्का सम्झौता भएको नगरपालिकाका इन्जिनीयर उज्ज्वल अर्यालले जानकारी दिए। वडा नं १ र ५ को भवन निर्माणको लागि प्रक्रिया अगाडि बढाइसकेको नगरप्रमुख तिमल्सिनाको भनाइ छ।
उनका अनुसार नगरका ११ वटाका वडा कार्यालय एउटै डिजाइनमा निर्माण हुनेछ। यसअघि निर्माण थालिएका वडा नं ३, ६ र ११ का वडा कार्यालय भवनको निर्माण सम्पन्न भइसकेको जनाइएको छ।
नगरप्रमुख तिमल्सिनाले ऐतिहासिक क्षेत्र दाप्चाको संरक्षण, सडक स्तरोन्नति र कालोपत्र गर्ने काम जनप्रतिनिधि आएपछि शुरु भएको र यसले दाप्चा क्षेत्रको मुहार परिवर्तनमा उल्लेखनीय योगदान गर्ने अपेक्षा गरेका छन्।