जिल्ला अदालत तनहुँले आर्थिक वर्ष २०७७/७८ मा २ सय ५८ मुद्दा फैसला गरेको जनाएको छ। गत साउनदेखि माघ मसान्तसम्म सात महिनामा ७ सय ८ मुद्दा दर्ता भएका छन्। दर्तामध्ये चालू आवमा ४ सय ५० मुद्दा रहेको छ भने २ सय ५८ मुद्दा फैसला भएको हो।
सम्बन्धविच्छेद मुद्दाका फैसला धेरै भएका छन्। सम्बन्धविच्छेदका ३ सय १३ मुद्दा दर्ता भएकामा चालू आवमा १ सय १४ वटा रहेको छ भने १ सय ९९ वटा फैसला भइसकेको सूचना प्रविधि सहायक सरोज तिमिल्सेनाले जानकारी दिए।
सम्बन्धविच्छेदका अधिकांश मुद्दा मिलापत्र माध्यमबाट फैसला गरिएको उनले बताए। सम्बन्धविच्छेदसम्बन्धी मुद्दामा महिला र पुरुष दुवैले मुद्दा दर्ता गराएका छन्। उनले भने, ‘तर मिलापत्रका लागि एक वर्ष अवधि पूरा भएको हुनुपर्ने कानूनी व्यवस्थामा उल्लेख गरेको छ।’
त्यसैगरी जबर्जस्तीकरणी मुद्दामा १६ वटा मुद्दा दर्ता भएकामा चालू आवमा १५ वटा रहेको छ भने एउटा फैसला भएको छ। त्यसैगरी लागुऔषध मुद्दामा २३ मुद्दा दर्ता भएकामा चालू आवमा २० वटा रहेको छ भने तीनवटा फैसला भएकाे छ। घरेलु हिंसामा दश मुद्दा दर्ता भएकामा चालू आवमा नौवटा रहेको छ भने एक फैसला भएको छ।
सवारी ज्यान मुद्दामा स्रोह वटा मुद्दा दर्ता भएकामा चालू आवमा १५ वटा मुद्दा रहेको र एकवटा मुद्दा फैसला भएको तनहुँ जिल्ला अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए।